काठमाडौं–सामान कुरियर गर्न लगाई अनलाइनमार्फत् ठगी गर्ने गिरोह पक्राउ परेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगीको आरोपमा विभिन्न ठाउँबाट तीन भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा दाङको घोराही उपमहानगरपालिका–१५ का ५५ वर्षीय राज भनिने मीनबहादुर थापा, भारतको हैदराबाद रङरिडी मन्दु्रनगरका ३३ वर्षीय फेनीकुमार जेट्टी, सोही ठाउँका २४ वर्षीय हेमन्त भद्दगिरी र सोही ठाउँकै भारतीय नागरिक ३२ वर्षीय भाष्कर नायक छन्।
उनीहरुलाई गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको समन्वयमा जेठ १३ गते पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए।
पक्राउ परेकाहरुलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। यो समूहबाट प्रहरीले क्यामेरा, ल्यापटप, मोबाइल, गितार, बुद्धको मूर्ति र १ लाख ६५ हजार भारुसमेत बरामद गरेको छ।
एक व्यक्तिले ल्यापटप, मोबाईल, क्यामेराजस्ता सामग्री बिक्री गर्नका लागि ‘हाम्रोबजार डटकम’ मा विज्ञापन राखेका थिए।
अमेरिका बस्ने क्रिस्टोफर पिलग्रिम नाम बताउँदै एक व्यक्तिले नेपालमा रहेको आफ्नो साथीलाई गिफ्ट दिनुपर्ने भन्दै ती सामान किन्ने बताएका थिए। आफू अमेरिकामा भएकाले नेपालमा रहेको साथीलाई गिफ्ट दिनुपर्ने कुरियरवापतको रकम बाहेक नै ५ हजार रुपैयाँ अरु दिने बताउँदै म्यासेज गरेका थिए ।
भैरहवामा रहेका विक्रम थापाको नाममा सामान कुरियर गर्न लगाएका थिए। ल्यापटपको भुक्तानी र कुरियर चार्ज बैंक खातामा हालिपदन्छु भन्दै क्रिस्टोफर नाम बताउनेले पीडित व्यक्तिको बैंक खाता नम्बरसमेत लिएका थिए । यसरी विश्वासमा पारेपछि पीडित व्यक्तिले विक्रम थापाको नाममा कुरियरसमेत गरेका थिए।
ट्याक्स गर्न र स्वीप कोड लिनसमेत अर्का एक व्यक्ति मिनबहादुर थापाको नाममा ७० हजार पठाउन लगाई ठगी गरेको पाइएको एसपी कोइरालाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।