काठमाडौं– आकर्षक तलवमा दुबई पठाइदिने भन्दै करिब साढे २ करोड रुपैयाँ ठगी भएको पाइएको छ। दुबईमा आर्मस् गार्डमा आकर्षक तलवमा जागिर लगाइदिने भन्दै २ करोड ४३ लाख ६ हजार ८१० रुपैयाँ ठगी भएको पाइएको हो।
ठगीको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले १ महिलासहित ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा लमजुङको राइनास नगरपालिका–३ का ४७ वर्षीय मधुबिलास बाँस्कोटा, सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–८ का ५४ वर्षीय होमबहादुर खड्का, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ की ३५ वर्षीय रन्जना ढकाल (प्याकुरेल), सोही ठाउँका ४० वर्षीय सन्तोष प्याकुरेल र रुपन्देहीको देवदह नगरपालिका–५ का ३० वर्षीय राजु भनिने खुमबहादुर बस्याल छन्।
यो समूहले ७६ जनाबाट करिब साढे २ करोड रुपैयाँ ठगी गरेको पाइएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कमल थापाले जानकारी दिए।
पक्राउ परेकामध्ये मधुबिलास वैदेशिक राजेगारीमा जान चाहने व्यक्तिको खोजी गर्ने, आर्थिक व्यवस्थापन गर्ने र त्यसबापत कमिसन लिने व्यक्ति भएका पाइएको छ।
होमबहादुर भने पीडितहरुको कागजात संकलन गर्ने र अन्तर्वार्ताका लागि तयारी गराउने व्यक्ति भएका सीआईबीले जनाएको छ। उनी यो ठगी प्रकरणको मुख्य योजनाकार रहेको सीआईबीका प्रवक्ता एसपी थापाले बताए।
रन्जनाले भने पीडितहरुलाई आफ्नो बैंक खातामा रकम जम्मा गर्न लगाएको खुलेको छ। आर्थिक कारोबार गर्ने मुख्य भूमिका रन्जनाको भएको सीआईबीले जनाएको छ।
राजु भनिने खुमबहादुरले विदेश जाने व्यक्तिको खोजी गर्ने काम गरेका थिए। सन्तोष प्याकुरेलले पनि विदेश जाने मान्छे खोजेर त्यसबापत कमिसन लिने गरेका थिए।
यो समूहले भिजिट भिसामा दुबई पठाई ठगी गर्ने गरेको खुलेको छ ।
दुबईमा रहेको त्रिनेत्र म्यानेजमेन्ट कन्सलटेन्सिजका सञ्चालक कोमलराज उपाध्यायको मिलेमतोमा यसरी ठगी भएको पाइएको एसपी थापाले बताए। दुबईमा आर्मस् गार्डका लागि भनेर ५ जनाको विज्ञापन समेत दखाइ मासिक ३ हजार दिरामसम्म आम्दानी हुने भन्दै प्रलोभनमा पारेर प्रतिव्यक्ति ८ लाख रुपैयाँसम्म लिएर ठगी भएको अनुसन्धानबाट खुलेको छ।
सामाजिक सञ्जालमार्फत् विज्ञापन गर्ने र नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षा निकायको जागिर छाडेका र अवकाश भएकाहरुलाई लक्षित गर्दै यो समूहले ठगी धन्दा नै चलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
यसरी विदेश जाने मान्छे तयार पारेपछि कोमलराज समेतको समूहले दुबईमा पुर्याइ ९० दिनभित्र काममा लगाइदिने भन्दै काम नलगाएर बिचल्ली पार्ने गरेको थियो। यो गिरोहबाट पीडित भएको भन्दै हालसम्म ७६ जनाले सीआईबीमा जाहेरी नै दिएका छन्।
पक्राउ परेकाहरुविरुद्ध मुलुकी अपराध संहिताअन्तर्गत ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभको कसुरमा म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइने सीआईबीले जानकारी दिएको छ। यो गिरोहबाट कोही पीडित भए सम्पर्कमा आउन पनि सीआईबीले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।