काठमाडौं– कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कैद सजाय घटाउने फैसला सर्वोच्च अदालतले उल्टाइदिएपछि पुनः पक्राउ परेका सशस्त्र प्रहरी बलका पूर्व नायव महानिरीक्षक (डीआईजी) रन्जन कोइराला कारागार चलान भएका छन्।
कोइरालालाई केन्द्रीय कारागार सुन्धारा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले जानकारी दिए।
कैद घटाएपछि रिहा भएका कोइराला सर्वोच्च अदालतले गत बिहीबार फैसला उल्टाएपछि फरार भएका थिए। त्यसको भोलिपल्ट शुक्रबार अपराध अनुसन्धान कार्यालयले उनलाई बानेश्वरबाट पक्राउ गरेको थियो।
बिहीबार सर्वोच्च अदालतले कोइरालाको फैसला उल्ट्याउँदै जिल्ला अदालत काठमाडौंले गरेको फैसलाअनुसार कर्तव्य जानको मुद्दामा जन्मकैद हुने फैसला सुनाएको थियो।
महाभियोग दर्ता भएसँगै निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको इजलासले गरेको विवादित फैसला सर्वोच्च अदालतले उल्टाएको हो।
कोइरालालाई श्रीमती हत्या अभियोगमा कैद छुट दिँदै २० वर्षको जन्मकैदलाई साढे ८ वर्षमा झार्ने राणासहितको इजलासको फैसला सर्वोच्चले बिहीबार उल्टाएको थियो। बिहीबारको फैसलासँगै अब कोइरालालाई २० वर्ष कैद हुनेछ। उनी साढे ८ वर्ष कैद भुक्तान गरेर रिहा भएका थिए। अब उनले साढे ११ वर्ष कैद भुक्तान गर्नु पर्ने छ।
निलम्बित प्रधानन्यायाधीश राणा र तेजबहादुर केसीको इजलासले ११ वर्ष ६ महिना छुट दिँदै २०७७ असार १५ गते यस्तो फैसला सुनाएको थियो। उक्त फैसलाको सार्वजनिक आलोचना हुनुका साथै फैसला गर्ने न्यायाधीशमाथि महाभियोग माग भएको थियो।
फैसला विवादमा परेपछि सरकारले २०७७ साउन ११ गते पुनरावेदन दर्ता गरेको थियो। साउन १२ गते नै सर्वोच्चले उक्त निवेदनमा निस्सा दिने आदेश गरेको थियो।
राणाको तर्कमा सहमत हुन नसकिने भन्दै सर्वोच्चले पुन: सुनुवाइ हुने भनि आदेश गरेको थियो। उक्त निवेदनमा बिहीबार सर्वोच्चका कामु प्रधानन्यायाधीश दिपककुमार कार्की, टंकबहादुर मोक्तान र कुमार चुडालको पूर्ण इजलासले उक्त फैसला बदर गर्दै जन्मकैद हुने फैसला गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।