काठमाडौं– बलात्कार आरोपमा पक्राउ परेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
पहिलो पटक दिएको ५ दिनको म्याद सकिएपछि अदालत पाण्डेलाई जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो। अदालतले उनीमाथि अनुसन्धान गर्न दोस्रो पटकका लागि ७ दिनको म्याद थप गरेको परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए।
आठ वर्ष अघिको सुन्दरी प्रतियोगितामा सहभागी एक किशोरीलाई पाण्डेले बलात्कार गरेको आरोप लागेको छ। सन्दरी प्रतियोगिताकी प्रतिस्पर्धी मध्यकी एक किशोरीले केही दिन अगाडि मात्रै पाण्डेले ६ महिनासम्म आफूमाथि बलात्कार विषय सार्वजनिक गरेकी थिइन्।
पीडित किशोरीले सामाजिक सञ्जालमार्फत उक्त घटना सार्वजनिक गरेपछि प्रहरीले पाण्डेलाई पक्राउ गरेको थियो। बलात्कारको मुद्दामा अनुसन्धान गर्न हदम्याद नाघेका कारण प्रहरीले उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान गरिरहेको छ।
किशोरीले आफूमाथि भएको घटनाको सन्दर्भमा त्यतिबेला नै पूर्व मिस नेपाल समेत रहेकी माल्भिका सुब्बालाई जानकारी गराएको बताएकी थिइन्। किशोरीको सार्वजनिक बयानका आधारमा प्रहरीले प्रहरीले सुब्बासँग पनि बयान लिइसकेको छ।
पाण्डेले भने बयानका क्रममा आफूलाई लागेको आरोपमा अस्वीकार गर्दै आएका छन्। पाण्डे पक्राउ परेपछि थप दुई किशोरीले समेत उनीविरुद्ध जाहेरी दिएका छन्।
जाहेरी दिएकामध्ये एक किशोरी नाबिग रहेको प्रहरीले जनाएको छ। उनीहरुले यौन हिंसाबारे उजुरी दिएकाले त्यस घटनामा पनि प्रहरीले सँगै अनुसन्धान अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।