काठमाडौं– प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ विमानस्थल निर्माणको लागि कानुनी, प्रशासनिक र व्यवहारिक कार्य गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ।
समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय हित अनुकूल अर्थतन्त्रलाई सुदृढ तुल्याउने उद्देश्यका साथ लामो समयको अध्ययन तथा धेरै ठूलो लगानीका साथ अगाडि बढाइएको राष्ट्रिय गौरवको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाको कार्य रोक्नुपर्ने भन्ने निर्णय कुनै दृष्टिकोणबाट उचित नदेखिने निष्कर्ष निकालेको छ।
'बाह्य र आन्तरिक ऋणको बोझ बोक्दै कठिन अवस्थामा रहेको नेपालको अर्थतन्त्रलाई निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रयोजनको लागि भइसकेको अर्बौं रूपैयाँलाई निरर्थक तुल्याउँदा झनै् धक्का लाग्छ', समितिको निर्देशन छ, 'अत: राष्ट्रिय हित, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट अत्यावश्यक निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्यलाई शीघ्र अघि बढाउन आवश्यक कानुनी, प्रशासनिक र व्यवहारिक कार्य गर्न नेपाल सरकारलाई निर्देशन दिने।'
केही दिनअघि सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माण गर्ने प्रक्रियालाई रोक लगाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।