महेन्द्रनगर– सरकारले ल्याएको आर्थिक वर्ष ०७९/८० को बजेटमा कञ्चनपुरका लागि पनि विभिन्न महत्वपूर्ण योजनालाई प्राथमिकताका साथ समावेश गरिएको छ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्टले बजेटमा केही महत्वपूर्ण कार्यक्रम समावेश भएको जानकारी दिए।
‘हामीले निर्वाचनका बेला नै गरेका प्रतिबद्धताअनुसार केही कार्यक्रम समावेश गरिएका छन्। यसका लागि हामीले निकै पहल गरेका थियौं,’ उनले भने, ‘बजेटमा समावेश भएका योजना कार्यान्वयनमा लैजानुपर्छ।’
सरकारले महाकाली नदी नियन्त्रणका लागि पनि बजेट विनियोजन गरेको छ। त्यहाँको नदी नियन्त्रण, थेग्रान व्यवस्थापनदेखि नदीको बहाव क्षेत्रको संरक्षणका कार्यहरु सञ्चालन गरिने छ।
सरकारले यसमा बायोइञ्जिनियरिङ सहितका नव प्रवर्तनशील प्रविधि प्रयोग गरी प्रदेश सरकार र स्थानीय तहसँगको समन्वयमा नदी नियन्त्रण तथा संरक्षणबाट उकास भएको जमिनलाई वृक्षारोपण, बगर खेती र अन्य उत्पादनमूलक कार्यमा उपयोग गरिने जनाएको छ।
सांसद भट्टले दोधारा चाँदनी क्षेत्रलाई सीमा क्षेत्र शहरी विकास गर्ने कार्यक्रम पनि बजेटमा समावेश भएको जानकारी दिए।
सीमा क्षेत्र शहरी विकास कार्यक्रमअन्तर्गत् चाँदनी दोधारा क्षेत्र पनि कार्यक्रममा परेको छ। त्यसका लागि पनि सरकारले बजेटमा रकम विनियोजन गरेको छ। बेलौरीलाई पनि सहरी क्षेत्र विकास कार्यक्रम अन्तर्गत बजेटमा समावेश गरिएको छ। त्यस्तै, महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको मूल नहर विस्तारको कार्यमा तीव्रता दिइनेछ।
यस्तै, ब्रह्मदेव क्षेत्रको २ हजार ९ सय हेक्टर जमिनमा सिँचाइ सेवा पुर्याउन शाखा नहर निर्माण कार्य अगाडि बढाइने बजेटमा उल्लेख गरिएको छ। भारतले आफ्नो क्षेत्रबाट नहरको निर्माणको काम सकिसकेको छ। उक्त शाखा नहर ब्रह्मदेव क्षेत्रबाट नै निर्माणको काम अघि बढाइने छ।
यसैगरी, कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको निर्माण कार्यलाई पनि अगाडि बढाइने बजेटमा उल्लेख छ।
गेटा मेडिकल कलेज र सेती तथा महाकाली अस्पतालबीचको सहकार्यमा सम्बन्धित विश्वविद्यालयअन्तर्गत् मेडिकल कलेज सञ्चालन गर्ने व्यवस्था मिलाइने विषय पनि बजेटमा समावेश गरिएको छ।
गेटा मेडिकल कलेजको निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको अवस्था छ। कञ्चनपुरको चाँदनी दोधारामा सुख्खा बन्दरगाहा निर्माणको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अगाडि बढाइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।