काठमाडौं– रुसी आक्रमणमा ५० जनाभन्दा बढी युक्रेनी खेलाडीले ज्यान गुमाएको युवा तथा खेलकुद मन्त्रालयलले जनाएको छ। युक्रेनका खेलकुदमन्त्री वादिम गुट्जितोले आइतबार विभिन्न विधाका ५० जनाभन्दा बढी खेलाडीले ज्यान गुमाएको जानकारी दिएका हुन्।
‘देशका लागि लड्दै गर्दा ५० जनाभन्दा बढी खेलाडी सहिद भएका छन्। यी खेलाडीले अन्तर्राष्ट्रियस्तरमा युक्रेनको प्रतिनिधित्व गरिसकेका छन्,’ उनले भने। यद्यपि रुस–युक्रेन युद्धमा ठूलो संख्यामा खेलाडीले ज्यान गुमाए पनि सेनामा भर्ती हुन चाहने खेलाडीको संख्यामा कमी नआएको उनको दाबी छ।
‘हामी हरेक खेलाडीको योगदानलाई नमन गर्न चाहन्छौं। सहिद खेलाडीको आत्मा शान्तिको लागि प्रार्थना गर्छौं। तर, यति ठूलो संख्यामा ज्यान गुमाए पनि भर्ती हुन चाहने खेलाडीको संख्यामा कमी आएको छैन,’ उनले भने।
उनले कठिन अवस्थामा पनि खेलाडीहरूले युरोपेली च्याम्पियनसिप र ओलम्पिक २०२४ का लागि तयारी गरिरहेको जानकारी दिए। केही खेलाडीले युक्रेनमा बसेर तथा कोही विदेशमा अभ्यास गरिरहेको उनले बताए।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरूद्ध २४ फेब्रुअरीमा युद्धको घोषणा गरेका थिए। ३ महिना लामो युद्धमा राजधानी किएभ र दोस्रो सहर खार्किभ कब्जा गर्न असफल भएपछि रुसले पृथकतावादीको तर्फबाट डोनबासको पूर्णनियन्त्रण खोस्ने प्रयास गरिरहेको छ। डोनबासका औद्योगिक क्षेत्र लुहान्स्क र डोनेट्स्क प्रान्त यसमा पर्छन्।
रुसले सिभिएरोडोनेत्स्क र लिसिचान्स्क सहरमा रहेका युक्रेनी सेनालाई घेरा हाल्ने प्रयासमा ३ तर्फबाट आक्रमण गर्दै हजारौं सेना परिचालन गरेको छ। क्रेमलिनको युद्धको मुख्य उद्देश्य नै सम्पूर्ण लुहान्स्क प्रान्तलाई रूसी नियन्त्रणमा लिनु हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।