काठमाडौं– गृह मन्त्रालयले रोल्पा कारगारमा शंकास्पद मृत भेटिएका कैदी सुन्दर हरिजनको घटना छानबिनका लागि समिति गठन गरेको छ।
घटनाका सम्बन्धमा अनुसन्धान र छानबिनका लागि भन्दै मन्त्रालयले कारागार व्यवस्थापन विभागका निर्देशक झरेन्द्र प्रसाद चापागाईको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो।
मन्त्रालयले सुन्दर हरिजन कारागारभित्रै झुण्डिएर आत्महत्या किन गरे, त्यो घटना कसरी हुन गयो भन्ने सम्बन्धमा छानबिन गरी १० दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ।
उक्त समितिको प्रतिवेदन प्राप्त भएपछि घटनाको सत्यतथ्य उजागर हुने मन्त्रालयले जनाएको छ। साथै भविष्यमा यस्ता घटना हुन नदिने सम्बन्धित निकाय सबैलाई सचेत पनि गराएको छ।
जेठ ४ गते रोल्पा कारागारमा रहेका बन्दी सुन्दर हरिजन झुण्डिएको अवस्थामा फेला परेका थिए। उनको मृत्युपछि नै उनी खेताला कैदी भएको रहस्य खुलेको हो। चौतर्फी दबावपछि मन्त्रालयले छानबिन समिति गठन गरेको छ।
हरिजन रोल्पा कारागारमा सुर्खेतका कैदी विजयविक्रम शाहको नाममा बस्दै आएको खुलेको थियो। अपराधिक लाभ मुद्दामा जेल परेका शाह भने दुई वर्षअघि नै जेलमुक्त भइसकेका थिए। अहिले शाह विदेशमा रहेका छन्।
शाह र हरिजन २०७५ मा एकैदिन जेल परेका थिए। शाह अपराधिक मुद्दामा जेल परेका थिए भने हरिजन चोरी मुद्दामा। हरिजनले कैद भुक्तान गरी जरिवानासमेत भुक्तान गरिसकेका थिए। तर, उनी जेलमै थिए। आर्थिक लेनदेनमा हरिजन जेलमै बसेको उनको आत्महत्यापछि मात्रै खुलेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।