काठमाडौं– नेकपा एमालेका नेता तथा सांसद विष्णु पौडेलले सरकारको नीति तथा कार्यक्रम दिशाहीन र उद्देश्यहीन रहेको टिप्पणी गरेका छन्। पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले नीति तथा कार्यक्रमले संसद्को समय मात्रै बर्वाद गरेको टिप्पणी गरे।
राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १० गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आथिृक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा जारी छलफलमा भाग लिँदै पौडेलले नीति तथा कार्यक्रम आर्थिक सङ्कटलाई समाधान गर्न कुनै मार्ग प्रशस्त गर्नेतर्फ केन्द्रित नभएको आरोप पनि लगाए।
औद्योगिक क्षेत्रका लागि कार्यक्रम नभएको, निजी क्षेत्रलाई हतोत्साहित बनाएको, विकास व्यवस्थापनको कार्यक्रम नभएको, मौद्रिक र वित्तीय नीतिबीच तालमेल नभएको, नियामक निकायमाथि हस्तक्षेप गरिएको पौडेलको टिप्पणी छ।
सरकारले अर्थतन्त्रमा ध्यान नदिइ भ्रम छरेको, मूल्यवृद्धि अकाशिएको, आपूर्ति श्रृङ्खला समस्यामा परेको, सङ्कटोपन्न खाद्य सङ्कटका बारेमा चासो नदिएको भन्दै पौडेलले विदेशी विनिमय जोखिममा पुगेको बताए।
सार्वजनिक विद्यालयको पूर्वाधारको विकास, प्राविधिक शिक्षाको कार्यक्रम, कालीगण्डकी तिनाउ डाइभर्सन परियोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनललगायतका कार्यक्रम छाडिएको टिप्पणी गर्दै उनले सरकारको नीति तथा कार्यक्रम प्रभावकारी नभएको उल्लेख गरे।
उनले बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने विषयलाई हावादारी भएको आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।