काठमाडौं– सामाजिक सञ्जाल (फेसबूक)बाट साथी बनेकी युवतीका अन्तरङ्ग तस्बिरहरु सार्वजनिक गरिदिने भन्दै धम्की दिएको आरोपमा नेपाल प्रहरीका १ जना जवान पक्राउ परेका छन्।
प्रहरीको साइबर ब्यूरोले प्रहरी चौकी बटेश्वर, धनुषा दरबन्दी भएका प्रहरी जवान कृष्ण कुमार यादवलाई पक्राउ गरेको हो।
रौतहटको भवानिपुर गाउँपालिका–४ घर भएका २७ वर्षीय यादबले युवतीलाई सामाजिक सञ्जालमा साथी बनाएर म्यासेज, च्याट तथा भिडियो कलबाट उनका अन्तरङ्ग तथा गोप्य तस्बिरहरु लिएका थिए। पछि तिनै अन्तरङ्ग तस्बिरहरु सार्वजनिक गरिदिने भन्दै धम्की दिने गरेका थिए।
प्रहरी जवान यादवले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेको भन्दै साइबर ब्यूरोले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका यादवमाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले ५ दिन थुनामा राख्ने अनुमति दिएको छ।
यस्तै, सामाजिक सञ्जालमा नक्कली (फेक) अकाउन्ट खोलेर युवतीको अन्तरङ्ग तस्बिरहरु आफन्त तथा साथीभाइलाई पठाएर चरित्र हत्या गरेको भन्दै साइबर ब्यूरोले अर्का १ जनालाई पनि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१७ घर भइ सुनसरीको धरान उपमहानगरपालिका–३ बस्दै आएका ३१ वर्षीय मोहम्मद सद्दाम भनिने मोहम्मद कासीम छन्।
साइबर ब्यूरोले उनीमाथि पनि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान अगाडि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।