काठमाडौं– स्पेनिस स्टार राफेल नाडाल ग्राण्डस्लाम इतिहासमा ३००औं जितसहित फ्रेन्च ओपनको तेस्रो चरणमा प्रवेश गरेका छन्। दोस्रो चरणमा उनले फ्रान्सका कोरेन्टिन मोटेटलाई ६–३, ६–१, ६–४ को सोझो सेटमा पराजित गरे।
रोला गारोसमा १४औं उपाधि जित्ने लक्ष्यमा रहेका ३५ वर्षीय नाडालले २३ वर्षीय खेलाडीविरुद्ध पनि आफ्नो फिटनेस प्रमाणित गरे। पछिल्लो समय उनी खुट्टा र करङको चोटले चिन्तित थिए।
नाडालले अब नेदरल्यान्ड्सका बोटिक भान डे जान्डस्लुपको सामना गर्नेछन्। यता, विश्व नम्बर दुई रसियाका डेनिल मेदभेदेव र स्पेनका कार्लोस अल्कारेज पनि तेस्रो चरणमा प्रवेश गरेका छन्।
दुई घण्टा ३५ मिनेटसम्म चलेको खेलमा मेदभेदेवले दोस्रो चरणको खेलमा सर्बियाका लास्लो डिएरेलाई ६-३, ६-४, ६-३ ले हराए।
अल्कारेजको सानदार प्रदर्शन
स्पेनका कार्लोस अल्कारेजले पाँच सेटको खेलमा स्वदेशी अल्बर्ट रामोस भिनोलासलाई ६-१, ६-७ (७-९), ५-७, ७-६, ६-४ को सेटमा हराए। पहिलो सेट जितेपछि उनले लगातार दुई सेट गुमाए।
१९ वर्षीय अल्कारेजले गत हप्ता मड्रिड ओपनमा विश्व नम्बर एक जोकोभिच र नाडाल दुवैलाई पराजित गरेका थिए। उनलाई उपाधिको दावेदारको सूचीमा राखिएको छ।
यसअघि विश्व नम्बर एक सर्बियाका नोभाक जोकोभिच र ओलम्पिक च्याम्पियन जर्मनीका अलेक्जेन्डर पनि आ–आफ्ना खेल जितेर तेस्रो चरणमा पुगिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।