काठमाडौं–सशस्त्र प्रहरी बलका तत्कालीन नायब महानिरीक्षक (डीआईजी) रन्जन कोइरालालाई कर्तव्य ज्यानको मुद्दामा कैद सजायमा छुट दिने यसअघिको फैसला सर्वोच्च अदालतले उल्टाइदिएसँगै कोइरालालाई पक्राउ गर्न प्रहरीलाई सर्कुलर भएको छ।
काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौंलगायतले रन्जनको खोजी सुरु गरिसकेका छ। तर अहिलेसम्म उनी फेला पर्न सकेका छैनन्।
सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, टंक मोक्तान र कुमार चुडालको बिहीबारको इजलासले यसअघि गरेको फैसला उल्टाउने फैसला सुनाएको हो। यसअघि गत असार १५ गते हाल निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालालाई सजायमा सहुलियत दिने फैसला सुनाएको थियो।
२०६८ सालमा श्रीमतीको हत्या गरी शवसमेत नष्ट गरेका तत्कालीन डीआईजी कोइरालालाई २०७१ वैशाख ७ गते काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको सजाय सुनाएको थियो। जिल्ला अदालतले हत्याबाट नै श्रीमती गीता ढकालको मृत्यु भएको ठहर गरेको थियो। पुनरावेदन अदालत पाटनले पनि त्यसैलाई सदर गरेको थियो।
जेल सजाय भोगिरहेका कोइरालालाई सर्वोच्च अदालतले गत असार दोस्रो साता फैसला गर्दै २० वर्षको कैदलाई साढे ८ वर्ष हुने भनी सजाय घटाएको थियो। सर्वोच्चको फैसलापछि कोइराला जेलबाट रिहा भएका थिए।
बिहीबारको फैसलासँगै अब कोइरालालाई २० वर्ष कैद हुने छ। उनी साढे ८ वर्ष कैद भुक्तान गरेर रिहा भएका थिए। अब उनले साढे ११ वर्ष कैद भुक्तान गर्नु पर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।