पोखरा–स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकामा निर्वाचित भएका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षलगायत जनप्रतिनिधिले बिहीबार पद तथा गोपनियताको सपथ लिएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा पोखरा सभागृहमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलेको उपस्थितिमा मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले महानगर प्रमुख धनराज आचार्यलाई पद तथा गोपनियताको सपथ गराए। यसैगरी महानगर प्रमुख आचार्यले उपप्रमुख मञ्जुदेवी गुरुङ, वडाध्यक्ष र वडा सदस्यहरूलाई सपथ गराए।
कार्यक्रममा आचार्यले सुन्दर पोखरालाई सबैले हेर्न चाहेको बनाउनका लागि आफूहरू प्रतिबद्ध रहेकाले यसमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे। उनले भने, ‘हामीले गर्ने सकारात्मक काममा मिडियाको साथ र सहयोग रहनेछ।’
उपप्रमुख मञ्जुदेवी गुरुङले सबैको साथ र सहयोगमा पोखरालाई समृद्ध बनाउनेतर्फ लाग्ने प्रतिबद्धता जनाइन्। गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले समुन्नत पोखरा निर्माणमा नवनिर्वाचित जनप्रतिनिधि सफल बन्ने विश्वास व्यक्त गरे।
पोखराको समृद्धि र विकास गण्डकी प्रदेशको समृद्धि र विकाससँग प्रत्यक्ष जोडिने बताउँदै उनले यहाँको विकासका लागि सहकार्यका साथ अघि बढ्ने बताए। बुधबार घोषणा गरिएको अन्तिम मतपरिणाम अनुसार पोखरा महानगरको प्रमुखमा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका आचार्य ५८ हजार ८९३ मत प्राप्त गरी विजयी भएका हुन्।
यसैगरी उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङ ६० हजार ५४६ मत ल्याएर विजयी भइन्। पोखरा महानगरका ३३ वडामध्येमा नेपाली कांग्रेस २३, नेकपा एमाले नौ र स्वतन्त्र एक उम्मेदवार विजयी भएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।