काठमाडौं–शंखरापुर नगरपालिकाको कार्यपालिका निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को गठबन्धन विजयी भएको छ।
राप्रपाका तर्फबाट महिला सदस्य तीन र दलित तथा अल्पसङ्ख्यक सदस्य एक निर्वाचित भएका छन्। महिला सदस्यमा राज्यलक्ष्मी नेमकुल जोशी, प्युरीमाया वाइवा र चन्दा श्रेष्ठ निर्वाचित भएको नगर निर्वाचन अधिकृत सीता निरौलाले बताइन्। राप्रपाबाट दलित तथा अल्पसङ्ख्यक सदस्यमा सञ्जय रम्तेल निर्वाचित भएका छन्।
यसैगरी एमालेले एक महिला सदस्य र एक दलित तथा अल्पसंख्यक सदस्य जितेको छ। एमालेबाट महिला सदस्यमा उमादेवी कार्की र दलित तथा अल्पसङ्ख्यक सदस्यमा आनन्द सार्की निर्वाचित भएको नगर निर्वाचन कार्यालयले जनाएको छ ।
माओवादी केन्द्रबाट एक महिला सदस्य र एक दलित तथा अल्पसङ्ख्यक सदस्य निर्वाचित भएका छन्। महिलामा मनिषा परियार र दलित तथा अल्पसङ्ख्यक सदस्यमा रमेश नेपाली दमाईं निर्वाचित भएको निर्वाचित अधिकृत निरौलाले बताइन्।
कार्यपालिका निर्वाचनमा नेपाली कांग्रेस र एकीकृत समाजवादी गठबन्धन पराजित भएको छ। कार्यपालिका निर्वाचनका लागि गत शनिबार निर्वाचन कार्यतालिकासहित मतदाता नामावली पनि प्रकाशन गरिएको थियो। कार्यपालिका निर्वाचनका लागि ४६ जना मतदाता थिए।
नौ वटा वडा रहेको नगरपालिकाको वडा नं ८ मा दलित महिला सदस्यको उम्मेदवारी नपरेकाले ४६ जना मात्र जनप्रतिनिधि निर्वाचित भएको नगर निर्वाचन कार्यालयले जनाएको छ। बिहीबार बिहान ११ बजेदेखि २ बजेसम्म मतदानको समय तोकिएको थियो। कार्यपालिकामा नगर प्रमुख र उपप्रमुखसहित वडाध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।