काठमाडौं– सुनसरीको इहटरी उपमहानगरपालिका–५ स्थित ब्लुमिङ लोटस ईंग्लिस बोर्डिङ स्कूलका विद्यार्थीलाई पाँच वर्ष अघि बलात्कार गरेर फरार रहेको भनिएका शिक्षक (प्रिन्सिपल) पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उक्त स्कूलका तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई पक्राउ गरेको हो। खड्कालाई बिहीबार काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता कमल थापाले जानकारी दिए।
खड्काले आफ्नै स्कूलमा पढ्ने १५ वर्षीया छात्रालाई औषधि–उपचार गराउने बहानामा बलात्कार गर्दै आएको भन्ने विषय सार्वजनिक भएको थियो। एक जना किशोरीले केही दिन अघि सामाजिक सञ्जालमार्फत् ८ वर्ष पूरानो बलात्कारको घटना सार्वजनिक गरेपछि ती किशोरीले पनि उक्त घटना सार्वजनिक गरेकी थिइन्। उक्त घटनाको विषयमा सुनसरीमै त्यतिबेलै जाहेरी दिए पनि कारबाही नभएको पीडित किशोरीको भनाइ थियो।
किशोरीले सामाजिक सञ्जालमार्फत ५ वर्ष पूरानो उक्त घटना सार्वजनिक गरेपछि सिआईबीले खड्कालाई पक्राउ गरेको हो। खड्काले घोपा क्याम्प जाने बाटोमा पर्ने जनहित गेस्ट हाउसमा लगेर ती किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ। उक्त घटना सार्वजनिक गरे स्कूलबाट रेस्टिकेट गरिदिने धम्की दिँदै बलात्कार गर्ने गरेको पीडितको भनाइ छ।
खड्काले पछि ब्लुमिङ लोटस स्कूल छाडेर अर्कै स्कूलमा पढाउन थालेपछि ती छात्रालाई विवाह गर्ने आश्वासन दिँदै आएको पनि पीडित पक्षले जनाएको छ। पक्राउ परेका खड्कामाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको सीआईबीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।