काठमाडौं– सूर्य नेपाल गल्फ च्याम्पियनसिप अन्तर्गत बुधवारको खेलमा शुक्रबहादुर राई निरज तामाङलाई एक स्ट्रोकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएका छन्।
सूर्य नेपाल गल्फ टुर अन्तर्गतको अन्तिम प्रतियोगिताको रुपमा रहेको च्याम्पियनसिपको तेस्रो दिनको खेलमा शुक्रले ६ अण्डर ६६ स्कोरका साथ समग्रमा १६ अन्डर दुई सय स्कोरकार्ड बनाउँदै शीर्ष स्थान हासिल गरेका हुन्।
दोस्रो दिनको खेलसम्म अग्रस्थानमा रहेका निरजले तेस्रो दिन तीन अण्डर ६९ स्कोरका साथ कुल १५ अन्डर दुई सय एक स्कोरकार्ड खेलेका थिए।
पहिलो दिनका लिडर वाङचेनले तेस्रो दिन दुई अण्डर ७० स्कोरका साथ कुल १२ अण्डर दुई सय चार स्कोरकार्ड बनाएका छन्। उनी समग्रमा तेस्रो स्थानमा छन्।
यस्तै, नेपाल नम्बर एक भुवन नगरकोटी चौंथो स्थानमा छन्। उनको कुल १० अण्डर दुई सय ६ स्कोरकार्ड छ। उनले तेस्रो दिन दुई अण्डर ७० स्कोरकार्ड खेलेका थिए।
कुल ५४ खेलाडीको सहभागिता रहेको च्याम्पियनसिपमा ४३ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्।
प्रतियोगिताको विजेताले दुई लाख ५० हजार रुपैयाँ पाउनेछन् भने उपविजेताले एक लाख ५५ हजार रुपैयाँ पाउनेछन्। यस्तै, तेस्रो हुनेले एक लाख १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।