काठमाडौं– सेन्ट लरेन्स कलेजले अबदेखि विद्यार्थीमाथि कुनै प्रकारका दुर्व्यवहार हुन नदिने प्रतिबद्धता जनाएको छ। एक विज्ञप्ति जारी गर्दै कलेज प्रशासनले घटनाबारे जानकारी भएपछि नै यौन दुर्व्यवहार गर्ने शिक्षकलाई बर्खास्त गरिसकेको र अहिले शिक्षकसमेत पक्राउ परिसकेकाले अब आइन्दा कुनै विद्यार्थीमाथि दुर्व्यवहार हुन नदिने प्रतिबद्धता जनाएको हो।
कलेजका प्राचार्य पुरुषोत्तम महर्जनद्वारा जारी विज्ञप्तिमा कक्षा ११ मा अध्ययनरत छात्राहरूमाथि भएको दुर्व्यवहारबारे जेठ ६ गते अनौपचारिक जानकारी पाएको र ९ गते घटनाको सम्बन्धमा छलफल गरी दुर्व्यवहार गर्ने शिक्षकलाई बर्खास्त गर्ने निर्णय गरिएको बताइएको छ।
आरोपित शिक्षकमाथि अनुसन्धान कार्यक्रमा कलेज प्रशासन हरप्रकारले सहयोगका लागि तयार रहेको पनि बताएको छ। कलेजले आगामी दिनमा विद्यार्थीमाथि कुनै प्रकारका दुर्व्यवहार हुन नदिने र थप सचेत रहँदै निगरानी बढाउने बताएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाको सम्बन्धमा कलेज व्यवस्थापन दुःख व्यक्त गर्दछ साथै आगामी दिनमा विद्यार्थी उपर कुनै पनि प्रकारका दुर्व्यवहार हुन नदिने तर्फ थप सचेत रही नियमित निगरानी गर्न प्रतिवद्ध छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।