काठमाडौं– पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध विभिन्न विद्यार्थी संगठनहरुले नेपाल आयल निगमको कार्यालय घेराउन गरेका छन्।
सत्ता गठबन्धन तथा विपक्षी दलसम्बद्ध विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग राख्दै बुधबार आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेका हुन्।

पेट्रोलियम पदार्थमा सरकारले लगाएको करका कारण उपभोक्ताहरु मारमा परेको भन्दै विद्यार्थी संगठनहरुले कर कटौतीको माग समेत गरेका छन्।
नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (छैटौं), सजाजवादी विद्यार्थी युनियनलगायतका १५ विद्यार्थी सङ्गठनले मूल्यवृद्धिविरुद्ध आन्दोलन गरेका हुन्।

आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले पढ्नका लागि घरबाट पठाएको पैसा गाडीभाडा तिर्नमै सकिने गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। सबै प्रकारका मूल्यवृद्धिको जड पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको र अत्यधिक करका कारण पेट्रोलियम पदार्थ महङ्गो भएको भन्दै विद्यार्थीहरुले कर फिर्ता गर्नुपर्ने माग समेत गरेका छन्।
उनीहरुले मंगलबार मात्रै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूलाई भेटेर पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेजीको मागसहित ध्यानाकर्षणपत्र बुझाएका थिए।

सरकारले विभिन्न बहानामा पेट्रोलियम पदार्थमा लगाएको अत्याधिक करबारे पुनर्विचार गर्नुपर्ने, वैकल्पिक उर्जाको खोज अनुसन्धान र प्रयोगका लागि कार्यदल गठन गरी काम गर्नुपर्ने, पेट्रोलियम पदार्थमा भएको एकाधिकार खारेज गरी खुला प्रतिस्पर्धाबाट आपूर्तिको व्यवस्था गरिनुपर्ने पनि विद्यार्थी संगठनहरुको माग छ।

नेपाल आयल निगमले पछिल्लो समय १ हप्ताकै अन्तरालमा दुईपटक इन्धन र खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेको थियो। निगमले वैशाख ३१ र जेठ ८ गते पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर १०–१० रुपैयाँ मूल्य बढाएको छ। यस्तै, खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २०० रुपैयाँ बढाइएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।