काठमाडौं– दुई वर्षदेखि कोरोना महामारीका कारण पूरै विश्वको अर्थतन्त्र उथलपुथल बनेको छ। अझै त्यसैमाथि रुस–युक्रेन युद्धले त झन् विपन्न मुलुकलाई थला पार्दै गएको छ।
कोरोना महामारीपछि विश्वको अर्थतन्त्रमा निकै परिवर्तन भयो। त्यसमा मुख्य कुरा त धनीहरूको धन बृद्धि हुँदै गयो भने विपन्नहरू झन् विपन्न हुँदै गएका छन्। सम्पन्न र विपन्नबीचको अन्तर बढ्दै गएको छ।
प्रोफिटिङ फ्रेम पेन (अक्सफाम)ले पछिल्लो दुई वर्षको आर्थिक स्थिति सार्वजनिक गरेको छ। उक्त सार्वजनिक तथ्यांक अनुसार विपन्नहरूको स्थिति झन् भयावह बन्दै गएको देखिन्छ।
दुई वर्षको अवधिमा विश्वमा ५७३ नयाँ अर्बपति थपिएका छन्। जहाँ हरेक ३० घण्टाको अवधिमा एक जना नयाँ अर्बपति थपिएको उक्त रिपोर्टमा उल्लेख छ।
यस्तै, २०२२ मा २६.३ करोड मानिस गरिबीमा जाने आंकलन गरिएको छ। जसअनुसार हरेक ३३ घण्टाको अवधिमा १० लाख मानिस गरिबीमा फस्नेछन्।
दुई दिनअघि सार्वजनिक भएको रिपोर्टअनुसार अहिले विश्वका १० अर्बपतिको सम्पत्ति विपन्न देशका ४० प्रतिशत मानिसको सम्पत्ति बराबर रहेको छ। पछिल्लो तीन वर्षको अवधिमा कमाउन नसकेको सम्पत्ति अर्बपतिहरूले दुई वर्षको अवधिमा कमाएका छन्।
यस्तै, अहिले विश्वका शीर्ष अर्बपतिहरूको उच्च स्थानमा रहेका एलन मस्कले आफ्नो ९९ प्रतिशत सम्पत्ति गुमाए पनि उनी शीर्ष ०.००१ अर्बपतिहरूमध्येमा कायमै रहनेछन्।
संस्थाले सार्वजनिक गरेको रिपोर्टमा २०२२ को अन्त्यसम्म दैनिक २२० रुपैयाँभन्दा पनि कम आम्दानी भएका मानिसहरूको संख्या ८६ करोड पुग्ने आंकलन गरिएको छ। यस्तै, कोरोनाका कारण गरिब भएका मानिसलाई सामान्य अवस्थामा पुग्न कम्तिमा ११२ वर्ष लाग्ने देखिन्छ।
सबैभन्दा गरिब बनेका ४० प्रतिशतले ११२ वर्षसम्म कमाए पनि अर्बपतिहरूको एक वर्षको कमाइजति मात्र हुने रिपोर्टमा बताइएको छ। कोरोनाकै कारण २०२१ मा १२.५ करोड मानिसको रोजगारी खोसिएको छ भने २०२० मा पुरुषको तुलनामा १.४ गुणा बढी महिलाले रोजगारी गुमाएका छन्।
यस्तै, कोरोनाले सबैभन्दा औषधि व्यवसायीहरूलाई माथि उकासेको छ। दुई वर्षकै अवधिमा मेडिकल क्षेत्रबाट ४० जना अर्बपति थपिएका छन्। जहाँ मोडर्ना, फाइजर, वालमार्ट जस्ता कम्पनीहरूले कोरोनाकालमा हरेक सेन्डमा १ लाख २४ हजार ८०० रुपैयाँ आम्दानी गरे।
गतवर्ष विश्वस्तरमा खाद्यान्नको मूल्यमा ३३.६ प्रतिशतसम्म बृद्धि भयो। तर, यो दर २०२२ को अन्त्यसम्म २३ प्रतिशतमा कायम रहने रिपोर्टमा उल्लेख छ। यस्तै, कोरोनाकालमै कम आय भएका देशका मानिसको तुलनामा राम्रो आम्दानी भएका देशका मानिसको आयु १६ प्रतिशतसम्म बृद्धि भएको पाइएको छ।
साओ पाओलो, ब्राजीलजस्ता सम्पन्नशाली देशका मानिस गरिब देशका मानिसको तुलनामा १४ वर्ष बढी उमेर बाँच्ने रिपोर्टमा बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।