काठमाडौं– ८ वर्ष अघिको बलात्कार घटनामा पूर्वमिस नेपाल माल्भिका सुब्बासँग प्रहरीले बयान लिएको छ।
गत बुधबार सामाजिक सञ्जालमार्फत् एक युवतीले आठ वर्ष अघि सन् २०१४ मा भएको एक सौन्दर्य प्रतियोगितामा आफूमाथि बलात्कार भएको सार्वजनिक गरेकी थिइन्।
प्रतियोगिता सम्पन्न भएपछि सक्सेस पार्टीका नाममा आयोजक मध्येका एक मोडेल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेले बलात्कार गरेको आरोप उनले लगाएकी थिइन्।
उक्त प्रकरणमा प्रहरीले साक्षीको रुपमा सुब्बासँग बयान लिएको हो। सुब्बासँग मंगलबार काठमाडौं प्रहरी परिसर, टेकुको मुद्दाका शाखाले बयान लिएको हो।
भिडियोमा युवतीले आफूले सुब्बालाई यौन हिंसामा परेकोबारे बताएको भए पनि उनले सहयोग नगरेको आरोप लगाएकी थिइन्।
बलात्कार तथा यौन हिंसाको आरोपमा पक्राउ परेका मोडेल भिसाज कन्सल्टेन्सीका सञ्चालक पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले सोमबार अनुमति दिएको छ। आठ वर्षअघि किशोरीलाई बलात्कार गरेको आरोपमा पाण्डे गत शनिबार स्वयम्भूबाट पक्राउ परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।