वीरगञ्ज– पर्साको ठोरीमा २३ वर्षीय प्रविण पाख्रिनको हत्या घटनामा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ। प्रहरीले २ जना युवकलाई काठमाडौंबाट पक्राउ गरेको हो।
यही जेठ ६ गते पर्साको ठोरी गाउँपालिका–५ ठूलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाख्रिनको बाघमोर्चा मन्दिर छेउमा ढुंगाले टाउकोमा हानेर हत्या भएको थियो। हत्या घटनालगत्तै प्रहरीले १७ वर्षका एक किशोरलाई नियन्त्रणमा लिएको थियो।
किशोरमाथि अनुसन्धानको क्रममा हत्यामा अन्य २ जनाको संलग्नता खुलेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ। हत्यापछि फरार रहेका २ जनालाई काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए।
पक्राउ पर्नेमा ठोरी गाउँपालिका–५ ठूलो बाघमोर्चा बस्ने २२ वर्षी सरोज स्याङ्वो र वीरगञ्ज महानगरपालिका–३२ बस्ने २० वर्षी किशन लोप्चन छन्। पक्राउ परेका दुवै जनाविरुद्ध कर्तव्य जानको मुद्दामा अनुसन्धान अगाडि बढाइएको डीएसपी खनालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।