काठमाडौं– बलात्कार तथा यौन हिंसाको आरोपमा पक्राउ परेका मोडेल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेले विभिन्न बहाना बनाएर यौन हिंसा गर्ने गरेको पाइएको छ।
आठ वर्ष अघिको बलात्कार घटनाको आरोपमा पक्राउ परेका पाण्डेविरुद्ध भएको अहिलेसम्मको अनुसन्धान तथा कारबाहीका बारेमा सोमबार प्रतिनिधि सभाको महिला तथा सामाजिक समिति बैठकमा गृहसचिव टेकनारायण पाण्डेले जानकारी गराएका थिए। सो क्रममा पाण्डेले सौन्दर्य प्रतियोगिताको बहाना बनाएर यौन हिंसा गर्ने गरेको गृहसचिव टेकनारायणले बताएका थिए।
विगत लामो समयदेखि कन्सल्टेन्सी सञ्चालन गर्दै आएका आरोपी पाण्डेले विभिन्न समय र विभिन्न नाममा सौन्दर्य प्रतियोगिता गर्दै आएका थिए। मोडलिङमा जान चाहने युवतीहरुका लागि उनले फोटो सुट पनि गराउँदै आएका थिए।
फोटो सुट गर्न चाहने युवतीहरुलाई एक्लै बिकिनी ड्रेसमा आउनु भन्दै आरोपी पाण्डेले बोलाएर यौन हिंसा गर्ने गरेको खुलेको गृहसचिव टेकनारायण पाण्डेले समिति बैठकमा बताएका थिए। आरोपी पाण्डेका परिवारका सदस्यहरु विदेशमा रहेको र श्रीमतीसँग समेत राम्रो सम्बन्ध नरहेको पाइएको उनले बताए।
गत बुधबार सामाजिक सञ्जालमार्फत् एक युवतीले आठ वर्ष अघि सन् २०१४ मा भएको एक सौन्दर्य प्रतियोगितामा आफूमाथि बलात्कार भएको सार्वजनिक गरेकी थिइन्। प्रतियोगिता सम्पन्न भएपछि सक्सेस पार्टीका नाममा आयोजक मध्येका एक पाण्डेले पेय पदार्थमा नसालु पदार्थ मिसाई खुवाएर बेहोस बनाई बलात्कार गरेको पीडितको दाबी छ।
त्यसपछि उनले ६ महिनासम्म ती किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ। ब्ल्याकमेल गर्दै ६ महिनासम्म बलात्कार र त्यसयता आफू अहिलेसम्म विक्षिप्त भएको उनले बताएकी छिन्। उनी त्यसबेला १६ वर्षकी थिइन्।
उक्त घटना युवतीले टिकटकमार्फत् सार्वजनिक गरेपछि प्रहरीले गत शनिबार स्वयम्भूबाट पाण्डेलाई पक्राउ गरेको थियो। उनी पक्राउ परेपछि अर्की एक किशोरीले पनि पीडित भएको भन्दै प्रहरीमा जाहेरी दिएकी छन्।
पाण्डेबाट पीडित भएको भन्दै प्रहरीको सम्कर्पमा पुगेकी उनले सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी हुन्। ती किशोरीले पाण्डेविरुद्ध यौन हिंसाको कसुरमा किटानी जाहेरी दिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले जानकारी दिए।
योसँगै पाण्डेविरुद्ध यौन हिंसा र मानव बेचबिखन तथा ओसारपसार गरी दुईवटा मुद्दामा अनुसन्धान हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।