काठमाडौं– ८ वर्ष अघिको बलात्कार घटनाका पीडितको जिल्ला अदालत काठमाडौंमा बयान लिने काम भइरहेको छ। आरोपी मोडेल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरुद्ध अनुसन्धानका लागि म्याद लिन पीडित किशोरीसँग अदालतले बयान लिएको हो। मानव बेचबिखन तथा ओसारपसार अन्तर्गतको कसुरको मुद्दामा म्याद लिन पीडितको बयान सुरुवाती चरणमै अदालतले लिने चलन छ।
सोह अनुसार सोमबार पीडित किशोरीसँग अदालतले बयान लिएको हो। किशोरीको बयान सकिएपछि आरोपी पाण्डेलाई थुनामा राखेर अनुसन्धान गर्नका लागि म्याद दिने/नदिने भन्ने निर्णय अदालतले गर्नेछ।
गत बुधबार सामाजिक सञ्जालमार्फत् एक किशोरीले आठ वर्ष अघि सन् २०१४ मा भएको एक सौन्दर्य प्रतियोगितामा आफूमाथि बलात्कार भएको सार्वजनिक गरेकी थिइन्। प्रतियोगिता सम्पन्न भएपछि सक्सेस पार्टीका नाममा आयोजक मध्येका एक पाण्डेले ती पेय पदार्थमा नसालु पदार्थ मिसाई खुवाएर बेहोस बनाई बलात्कार गरेको पीडितको दाबी छ।
त्यसपछि उनले ६ महिनासम्म ती किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ। ब्ल्याकमेल गर्दै ६ महिनासम्म बलात्कार र त्यसयता आफू अहिलेसम्म विक्षिप्त भएको किशोरीले बताएकी छिन्। ती किशोरी त्यसबेला १६ वर्षकी थिइन्।
उक्त घटना किशोरीले टिकटकमार्फत सार्वजनिक गरेपछि प्रहरीले गत शनिबार स्वयम्भूबाट पाण्डेलाई पक्राउ गरेको थियो। उनी पक्राउ परेपछि अर्की एक किशोरीले पनि पीडित भएको भन्दै प्रहरीमा जाहेरी दिएकी छिन्।
पाण्डेबाट पीडित भएको भन्दै प्रहरीको सम्कर्पमा पुगेकी एक किशोरीले सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी हुन्। ती किशोरीले पाण्डेविरुद्ध यौन हिंसाको कसुरमा किटानी जाहेरी दिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले जानकारी दिए।
योसँगै पाण्डेविरुद्ध यौन हिंसा र मानव बेचबिखन तथा ओसारपसार गरी दुई वटा मुद्दामा अनुसन्धान हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।