काठमाडौं– गृह मन्त्रालयको बढुवा समितिको सोमबारको बैठकले गरेको सिफारिस सदर भएमा नेपाल प्रहरीको इतिहासमा प्रशासन (जनपद)तर्फको पहिलो महिला अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) पूजा सिंह बन्ने भएकी छन्।
सोमबार बसको बढुवा सिफारिस समितिको बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) पूजा सिंहसँगै ५ जनालाई एआईजीमा बढुवा लागि सिफारिस गरेको छ।
सिफारिस भएको एक साताभित्र उनीविरुद्ध कुनै उजुरी नपरे र समितिको सिफारिसलाई मन्त्रिपरिषद्ले सदर गरे नेपाल प्रहरीको इतिहासमा सिंह पहिलो महिला एआईजी बन्नेछिन्।
यसअघि पार्वती थापा पहिलो महिला एआईजी बन्ने देखिए पनि सरकारले उनको बढुवा रोकेको थियो। थापा सिनियर हुँदाहुँदै उनलाई छाडेर सरकारले उपेनद्रकान्त अर्याललाई एआईजी बनाउँदै पछि आईजी बनाएको थियो।
सिनियर हुँदा पनि एआईजी बढुवामा छुटाएको भन्दै त्यसबेला थापा सर्वोच्चमा पुगेकी थिइन्। उनको सेवा अवधि नसकिउन्जेलसम्म सर्वोच्चले मुद्दाको फैसला गरे। सेवा अवधि सकिएपछि सेवा सकिएको कारण देखाउँदै फैसला गरिरहनु पर्ने आवश्यक नरहेको सर्वोच्चले उल्लेख गरेको थियो।
नेपाल प्रहरीमा प्राविधिकतर्फ भने यसअघि नै महिला एआईजी भइसकेका छन्। प्रहरी अस्पतालमा कार्यतर डाक्टर आशा सिंह पनि महिला हुन्। तर उनी प्राविधिक (डाक्टर)तर्फको एआईजी हुन्।
सिंह मधेसी महिलाको रुपमा नेपाल प्रहरीको डीआईजी बन्ने पहिलो अधिकृत पनि हुन्।
प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेकी सिंह प्रजातन्त्र सेनानी केदारप्रसाद सिंहकी आफन्त समेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।