काठमाडौं– हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीले गाउँपालिकाको अध्यक्ष जितेको छ। रुपन्देहीको मर्चवारी गाउँपालिकामा सो पार्टीले जित निकालेको हो।
पार्टीका तर्फबाट गयाप्रसाद बरई ४ हजार ३८५ मत ल्याएर निर्वाचित भएका छन्। उनले कांग्रेसका उम्मेदवार ज्ञानप्रकाश मिश्रलाई पराजित गरेका हुन्। मिश्रले ३ हजार २४५ मत मात्रै ल्याए।
यस्तै, गाउँपालिकाको उपाध्यक्ष पनि जनता प्रगतिशील पार्टीकै उम्मेदवार आशा सिंहले जितेकी छिन्। उनले २ हजार ९६५ मत पाइन्। उनले कांग्रेस उम्मेदवार सुमन यादवलाई पराजित गरेकी हुन्। उनले २ हजार ४०९ मत पाइन्।
गाउँपालिकाको वडा नम्बर ५ र ७ को वडाध्यक्ष पनि जनता प्रगतिशील पार्टीले नै जितेको छ। वडा नम्बर ५ मा कृष्णकुमार सिंह र वडा नम्बर ७ मा गनेश चौधरी (कुर्मी)ले जित निकालेका हुन्। त्यस्तै केही वडा सदस्यहरू पनि यो पार्टीले जितेको छ।
२०७४ मा सम्पन्न आम निर्वाचनमा त्रिपाठी एमालेको सूर्य चिह्नबाट जितेर प्रतिनिधि सभा सदस्य भएका थिए। उनले गत मंसिरमा आफ्नै नेतृत्वमा जनता प्रगतिशील पार्टी गठन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।