काठमाडौं– नेपाल भ्रमणमा रहेकी अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाले गृहमन्त्री बालकृष्ण खाणसँग शिष्टाचार भेट गरेकी छन्। आइतबार गृह मन्त्रालयमा भएको भेटमा आपशी हित र द्विपक्षीय सम्बन्धबारे छलफल भएको छ।
भेटमा नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापनाको ७५औं वार्षिकोत्सवको उपलक्ष्यमा एवम् दुई देशबीचको विकास साझेदारीका ६० वर्ष लामो सम्बन्धबारे छलफल भएका थियो।
गृहमन्त्री खाणले भूकम्पछिको पुनः निर्माण र कोभिडविरुद्धको नेपाललगायत विश्वव्यापी लडाइँमा प्राप्त अमेरिकी सहयोगका लागि धन्यवाद व्यक्त गरे। भेटमा गृहमन्त्री खाणले नेपाल आफ्नो छिमेकी देश भारत र चीनको सुरक्षा संवेदनशीलताप्रति प्रतिबद्ध रहेको पनि बताए।
उनले विश्वमा स्वतन्त्रता, मानवअधिकार र लोकतन्त्रको योगदानको लागि अमेरिकाले पुर्याएको योगदानको प्रशंसासमेत गरे। मन्त्री खाणले मानव अधिकार पवर्द्धन नेपाललाई अमेरिकाको साथ रहेको उल्लेख गर्दै नेपालले सशस्त्र द्वन्द्वको अन्त्य गरी शान्तिपूर्ण राजनीतिमा सकारात्मक रुपमा अघि बढेको र नेपालको द्वन्द्व समाधानको घरेलु मोडल विश्व समुदायको लागि उदाहरण बनेको बताए।
नेपालको तर्फबाट भुटानी शरणार्थीको तेस्रो देश पुनर्वासको लागि अमेरिकाले गरेको सहयोगप्रति समेत गृहमन्त्री खाणले धन्यवाद व्यक्त गरे।
त्यस्तै, सन् १९८९ भन्दा अघि नेपाल आएका तिब्बती शरणार्थीलाई मात्र नेपालले शरणार्थीको मान्यता दिएको र नेपालमा शरणार्थीले स्वास्थ्य, शिक्षा, कोभिडविरुद्धको खोपमा समान पहुँच प्राप्त गरेको गृहमन्त्री खाणले उपमन्त्री जियालाई जानकारी गराए। त्यसका लागि उपमन्त्री जियाले धन्यवाद व्यक्त गरे। गृहमन्त्री खाणले उपमन्त्री जियालाई लुम्बिनी भ्रमणको लागि अनुरोध गरे।
उपमनत्री जियाले आफू लुम्बिनी भ्रमणका लागि उत्सुक रहेको र अर्को पटकको भ्रमणमा लुम्बिनी भ्रमणलाई कार्यसूचीमा राख्ने बताइन्।
अमेरिकी रहयोग नियोग (एमसीसी) संसदबाट अनुमोदन गरी नेपालको विकास र गरिबी निवारणतर्फ सरकार अग्रसर भएको विषयलाई अमेरिकी सरकारको तर्फबाट उपमन्त्री जियाले धन्यवाद गरिन्। साथै अमेरिकाले नेपाललाई दिने आर्थिक सहयोगमा बढोत्तरी गरेको पनि उनले जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।