काठमाडौं– नबिल बैंक लिमिटेडको विशेष साधारण सभाले नेपाल बंगलादेश बैंक लिमिटेडलाई एक्विजेसन (प्राप्ति) गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ।
नेपाल बंगलादेश बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको सेयर मूल्य अनुपात १००ः४३ लाई उक्त विशेष साधारण सभाले स्वीकृति प्रदान गरेको छ। जसअनुसार नेपाल बंगलादेश बैंकका सेयरधनीहरुले नेपाल बंगलादेश बैंकको १०० कित्ता बराबर नबिल बैंक लिमिटेडको ४३ कित्ता सेयर प्राप्त गर्नेछन्।
उक्त साधारणसभाले नेपाल बंगलादेश बैंक लिमिटेडलाई नबिल बैंक लिमिटेडले प्राप्ति गर्ने सम्बन्धमा भएको सम्पत्ति, दायित्व, तथा कारोबारको मूल्यांकनकर्ता पीकेएफ टीआर उपाध्याय एण्ड कम्पनी, चाटर्ड एकाउण्टटेन्ट्सको नियुक्ति तथा भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन, समझदारीपत्र तथा अन्तिम सम्झौता पत्र लगायतका सम्पूर्ण काम कारबाहीहरुलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको छ।
२०७८ चैत्र मसान्तको बित्तीय विवरण अनुसार नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपश्चात नबिल बैंकको चुक्ता पू“जी २२ अर्ब ८३ करोड २९ लाख ८ हजार पुग्नेछ भने कर्जा रकम ३०९ अर्ब र निक्षेप रकम ३२० अर्ब पुग्नेछ। त्यसैगरी, बैंकको गैरकोषमा आधारित व्यवसायको आकार १४५ अर्ब पुग्नेछ।
प्राप्तिपश्चात नबिल बैंकको शाखा सञ्जाल बृद्धि भई २५४ पुग्नेछ। त्यसैगरी, ९ महिनाको संयुक्त खुद मुनाफा ४ अर्ब ४६ करोड हुनेछ। नेपालको बैंकिङमा सेवामा अग्रणी स्थानमा रहँदै आएको नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपश्चात वााणिज्य बैंकहरुमध्ये नबिल बैंकको निक्षेप, कर्जा, गैरब्याज आम्दानी, गैरकोषमा आधारित व्यवसाय, तथा कुल नाफा लगायतका विभिन्न सूचकांकहरुमा अग्रणी स्थानमा सुनिश्चित गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।