काठमाडौं–गृह मन्त्रालयले महिला हिंसा भएको भनी केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोबारे अध्ययन गर्न बनेको छानबिन समितिलाई सहयोग गर्न सबैमा अनुरोध गरेको छ।
मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गरी यस्ता विषयमा शीघ्र छानबिनमार्फत् सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारबाही गर्न नेपाल सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।
‘पछिल्लो घटनाका सम्बन्धमा प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरको संयोजकत्वमा छानबिन समिति गठन गरिएको र समितिबाट छानबिनसमेत सुरु भइरहेको अवस्था छ, उक्त समितिलाई अनुसन्धान कार्यमा सहयोग गर्नुहुन मन्त्रालय सबैमा अनुरोध गर्दछ', गृहप्रवक्ता फडिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले शुक्रबार गठन गरेको उक्त छानबिन समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुँडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का छन्। समितिले शुक्रबारबाटै काम सुरु गरेको गृहमन्त्रालयले जनाएको छ।
मन्त्रालयले उक्त सामग्रीका सन्दर्भमा बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदबाट उठाइएको र सभामुखले रुलिङ गरेको तथा नागरिक समाजबाट कारबाहीका लागि प्रदर्शन एवं दबाबका सम्बन्धमा गृहमन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।