काठमाडौं — वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन २०७९ को नतिजा अन्तिम चरणमा पुगेको छ। ७५३ स्थानीय तहमा ६ महानगर, ११ उपमहानगर, २९३ नगरपालिका र ४६० गाउँपालिका रहेका छन् जसमध्ये धेरै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। महानगर र केही स्थानीय तहको मतगणना जारी छ। जारी मतगणनामा कतिपय स्थानीय तहको प्रमुखमा महिला निर्वाचित भएका छन्।
२०७४ मा भएको स्थानीय तह निर्वाचनमा १८ जना महिला प्रमुख पालिकामा निर्वाचित भएका थिए।
२०७९ को स्थानीय तहको निर्वाचनको मतगणना जारी छ। सत्ता गठबन्धनका कारण महिलाको उम्मेदवारी खासिएको थियो। तर, पनि पालिका प्रमुखमा भने संख्या बढेको छ। शनिबारसम्मको मतगणनाको परिणाम हेर्दा २२ जना महिला पालिका प्रमुखमा निर्वाचित भएका छन्। भरतपुर महानगरपालिकामा मतगणना जारी छ। त्यहाँ गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी रेनु दाहालले अग्रता बनाइरहेकी छन्।
प्रदेश १ मा ५ जना, मधेश प्रदेशमा ३, बामगती प्रदेशमा ५, गण्डकी प्रदेशमा ३, लुम्विनी प्रदेशमा २, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा २ जना पालिका प्रमुख महिला बनेका छन्।
प्रदेश १ मा चार जिल्लामा पाँच जना महिला प्रमुख बनेका छन्। खोटाङ्गको जन्तेढुंगा गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रबाट अरुणदेवी राई विजेता बनेकी छन्। उनले २ हजार ८८१ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका शंखरबहादुर राईले २ हजार ५७५ मत ल्याए।
त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका खेम बहादुर खड्काले जित हासिल गरेका छन्। उनले २ हजार ८०५ मत ल्याएउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेकी विमला राईले २ हजार ४९५ मत ल्याएकी छन्।
खोटाङ्गकै हलेसी तुवाचुङ्ग नगरपालिकामा मेयरमा नेपाली कांग्रेसकी विमला राई विजयी बनेकी छन्। उनले ६ हजार ३१७ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका खडेन्द्र राईले ५ हजार ९६६ मत ल्याएका छन्। उपप्रमुखमा कांग्रेसकै रमेश कुमार राउत विजयी भएका छन्। विमला पहिलो कार्यकालमा उपमेयर बनेकी थिइन्।
मोरङको कानेपोखरी गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष राजमति इङ्गनाम गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी छन्। एमालेकी राजमतिले ३ हजार १ सय २९ मतान्तरले कांग्रेसका सञ्जय भट्टराईलाई पराजित गरिन्।
राजमतिले ८ हजार ९ सय ७५ मत ल्याउँदा भट्टराईले ५ हजार ८ सय ४६ मत ल्याए। उपाध्यक्षमा भने नेकपा एमालेका भोलाप्रसाद अधिकारीले जितेका छन्।
सोलुखुम्बुको लिखु पिके गाउँपालिका अध्यक्षमा कांग्रेसकी मिनादेवी कार्कीले जितेकी छन्। उनी १ हजार २ सय ६० मत ल्याई विजयी भएकी हुन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका डम्बरबहादुर बस्नेतलाई १ सय ४७ मतान्तरले पराजित गरेकी हुन् । बस्नेतले १ हजार १ सय १३ मत ल्याएका छन्। उपाध्यक्ष भने नेपाली कांग्रेसकै ङ्गावाङ्ग लाक्पा शेर्पा विजयी भएका छन्।
झापाको विर्तामोड नगरपालिकामा मेयरमा नेकपा एमालेकी पवित्रादेवी महतारा विजयी बनेकी छन्। उनले १६ हजार ५२० मत ल्याएकी छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भोजराज सिटौलाले १२ हजार ७६२ मत ल्याएका छन्। उपमेयरमा भने एमालेकै नगेन्द्र प्रसाद संगौला विजयी बनेका छन्।
मधेश प्रदेशमा दुई जिल्लामा तीन महिला प्रमुख बनेका छन्। सप्तरीको सुरूङगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी गिता चौधरी विजयी भएकी छन्। उनले ७ हजार २९२ मत ल्याउँदा प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका राम नारायण चौँधरीले ४ हजार २१७ मत पाए। उपमेयरमा भने नेपाली कांग्रेसका रुद्र बहादुर कार्की विजयी भएका छन्।
रौतहटको मौलापुर नगरपालिका मेयरमा नेकपा एमालेकी रीना कुमारी साह विजयी बनेकी छन्। उनले ५ हजार ५६४ मत ल्याएकी छन्। उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका रामप्रवेश राय यादवले ३ हजार ६२ मत ल्याए। उपमेयरमा एमालेकै नागेन्द्र प्रसाद यादव विजयी बनेका छन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि रीना मौलापुरको मेयर जितेकी थिइन्।
त्यस्तै रौतहटकै ईशनाथ नगरपालिकाको मेयरमा लोकतान्त्रिक समाजवादी पार्टीकी कौशल्या देवीले विजयी भएकी छन्। उनले ६ हजार २८२ मत ल्याएकी छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका सतोष कुमार मेहताले ५ हजार ३०७ मत ल्याएका छन्। उपमेयरमा भने लोसपाकै मो. परवेज विजयी बनेका छन्।
बागमती प्रदेशमा चार जिल्लामा पाँच महिला पालिका प्रमुख बनेका छन्। मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना कुमारी लामा मेयरमा निर्वाचित भइन्। लामाले २३ हजार ८० मत ल्याइन्। मेयरमा नेकपा एमालेका अनन्त प्रसाद पौडेलले २० हजार ९०८ मत ल्याए।
उपमेयरमा गठबन्धनबाटै नेपाली कांग्रेसका उम्मेदवार राजेश बानिया निर्वाचित भएका छन्। बानिया ३३ हजार ११४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेकी सुमित्रा काफ्लेले २४ हजार ३२८ मत ल्याइन्। उपमेयरमा राप्रपाकी इन्दीरा न्यौपानेले ५ हजार ५९७ मत ल्याइन्।
चितवनको माडी नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) तारा कुमारी काजी महतो ९ हजार ९०१ मत पाउँदै विजयी भइन्। उनका प्रतिस्पर्धी माओवादी उम्मेदवा ऋषिराम काफ्ले ७ हजार ७२९ मत प्राप्त गरे। त्यस्तै उपप्रमुखमा भने नेपाली कांग्रेसका खेमप्राद महतोले जितेका छन्।
सिन्धुलीको सुनकोशी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रकी दिपा बोहरा (दाहाल) निर्वाचित भएकी छन्। उनले ५ हजार ३७३ मत ल्याएर विजयी हुँदा एमालेका रोमनराज गिरीले ५ हजार ९८ मत पाए। उपाध्यक्षमा भने नेपाली कांग्रेसका कपिल कुमार कोइराला विजयी भएका छन्। दिपा बोहरा पहिलो स्थानीय तहको निर्वाचनमा अध्यक्षमा निर्वाचित भएकी थिइन्। यो उनको दोस्रो कार्यकाल हो।
त्यस्तै सिन्धुलीकै फिक्कल गाउँपालिका अध्यक्षमा नेकपा एमालेकी उम्मेदवार पार्वती सुनुवार ४ हजार ६२ मत ल्याई विजयी भएकी हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नृप बहादुर भुजेलले ४ हजार १७ मत ल्याएका छन्। उपाध्यक्षमा एमालेका राजु बराल विजयी बनेका छन्। पार्वती सुनुवार २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।
काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका नेकपा माओवादी केन्द्रकी रेणुका चौलागाई विजयी भएकी छन्। उनले ६ हजार २२८ मत पाउँदा उनका प्रस्पिर्धी नेकपा एमालेका जित राम लामाले ५ हजार ४६३ मत ल्याएका छन्। उपाध्यक्षमा भने नेपालीक कांग्रेसका शेर बहादुर लामा विजयी भएका छन्।
गण्डकी प्रदेशमा तीन स्थानीय तहका प्रमुख महिला निर्वाचित भएका छन्। बागलुङको बडिगाड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसकी गण्डकी थापा निर्वाचित भएकी छन्। पाँच दलीय गठबन्धनको साझा उम्मेदवार थापा पालिका प्रमुखमा निर्वाचित हुने जिल्लाकै पहिलो महिला हुन्। अध्यक्षमा निर्वाचित थापाले ७ हजार २७३ मत प्राप्त गरिन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका राजन कुमार पाईजाले ५ हजार ८१४ मत ल्याएका छन्। उपाध्यक्षमा भने नेपाली कांग्रेसका भिमसेन वन विजयी भए।
पर्वतको मोदी गाउँपालिका प्रमुखमा नेकपा एमालेकी हिरादेवी शर्मा विजयी भएकी छन्। उनले ६ हजार १९ मत पाउँदा नेकपा माओवादी केन्द्रका गुप्त बहादुर ठकुरीले ४ हजार ६८० मत ल्याए। उपाध्यक्षमा एमालेकै विमल लामीछाने विजयी बनेका छन्। त्यस्तै पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा नेपाली कांग्रेसबाट लक्ष्मीदेवि पाण्डे विजयी भएकी छन्। उनले ६ हजार ४५५ मत पाउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका चेत बहादु रानाले ५ हजार ७४१ मत पाए।
लुम्बिनी प्रदेशमा दुई जिल्लामा दुई पालिका प्रमुख बनेका छन्। पाल्पाको बगनासकाली गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सरस्वती दर्लामी चिदी विजयी भएकी छन्। उनले ६ हजार ४६६ मत ल्याउँदा उनकी प्रतिस्पर्धी कांग्रेसकी सुनिता अधिकारीले ५ हजार ६३३ मत ल्याएकी छन्। उपाध्यक्षमा भने नेकपा एमालेका हरि प्रसाद पाठक विजयी भएका छन्।
पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा नेकपा एमालेकी विमला अर्याल विजयी भएकी छन्। उनले १४ हजार ८३८ मत ल्याएकी छन्। कांग्रेसका अर्जुन कुमार पोखरेलले ११ हजार ६२० मत ल्याए। उप्रमुखमा एमालेकै सूर्य प्रसाद दुवे विजयी बनेका छन्।
कर्णाली प्रदेशका दुई जिल्लामा दुई महिला पालिका प्रमुख बनेका छन्। दैलेखको भैरवी गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसका रिता कुमारी शाहि निर्वाचित भएकी छन्। उनले ३९७६ मत प्राप्त गर्दा नेकपा एमालेका सर्वराज महताराले ३ हजार ९६० मत पाए। उपाध्यक्षमा भने नेपाली कांग्रेसकै देवी भण्डारी विजयी भएकी छन्। अध्यक्ष र उपाध्यक्ष दुवैमा महिला निर्वाचित भएकी छन्।
सुर्खेत सदरमुकाम रहेको वीरेन्द्रनगर नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। मेयरमा एमालेकी मोहनमाया ढकाल र उपमेयरमा पनि एमालेकै नीलकण्ठ खनाल निर्वाचित भएका हुन्।
मेयरमा एमालेकी ढकालले १६ हजार ३८ मत ल्याइन्। उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उपेन्द्र खड्काले १५ हजार ४८४ मत पाए। ढकाल २०७४ को स्थानीय निर्वाचनमा १६ हजार ६८ मत ल्याएर वीरेन्द्रनगरको उप–प्रमुख पदमा विजयी भएकी थिइन्।
सुदूरपश्चिम प्रदेशबाट दुई जिल्लामा दुई महिला पालिका प्रमुख बनेकी छन्। अछामको पञ्चदेवल विनायक नगरपालिकामा मेयरमा नेपाली कांग्रेसकी अम्बिका कुमारी चलाउने विजयी बनेकी छन्। उनले ३ हजार ६५३ मत ल्याएउँदा उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी राम बहादुर विकले ३ हजार १७२ मत पाए। उपमेयरमा कांग्रेसकै हर्क बहादुर रावल विजयी बनेका छन्।
कैलालीको लम्की चुहा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी शुशीला शाही विजयी भएकी छन्। उनले १२ हजार ७१३ मत ल्याएर प्रमुखमा विजय हासिल गरिन्। उनका प्रतिस्पर्धी एमालेका महादेव बजगाईंले १० हजार ४३५ मत ल्याए।
यस्तै, उपप्रमुखमा एमालेकी जुना चौधरी विजयी भएकी छन्। उनले ११ हजार ७८ मत प्राप्त गरिन्। उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी जानकी कुमारी शाहीले ८ हजार ३०८ मत ल्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।