काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा ३ वटा मौसम प्रणालीको प्रभाव रहेको छ। स्थानीय वायु, भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव रहेको विभागले जनाएको छ।
आज (शनिबार) देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल प्रदेश १ तथा देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। प्रदेश १, मधेस प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज (शनिबार) दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही र अन्य प्रदेशहरुका थोरै स्थानमा मेघ गर्जन / चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार शनिबार राति प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र मधेस प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङ र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।