काठमाडौं– सौन्दर्य प्रतियोगिको नाममा भएको भनिएको यौन हिंसाबाट पीडित भएकी किशोरीको घरमा प्रहरी उपरीक्षक (एसपी)सहितको टोली पुगेको छ।
पीडित भनिएकी किशोरीको काठमाडौंको काँडाघारीस्थित घरमा उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालासहितको टोली गएको हो। अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरका अनुसार कोइरालाका साथै डीएसपी कोपिला चुँडालसहितको टोली किशोरीको घरम पुगेर काउन्सिलिङको काम सुरु गरेको छ।
८ वर्ष पहिले एउटा सौन्दर्य प्रतियोगितामा आफूमाथि यौन हिंसा भएको दाबी गर्दै एक किशोरीले भिडियो सार्वजनिक गरेकी थिइन्। सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा आफूमाथि यौन हिंसा भएको भन्दै सामाजिक सञ्जाल टिकटकमा एक किशोरीले २० वटा भिडियो सार्वजनिक गरेकी थिइन्। उनले कार्यक्रममा आयोजकमध्येका १ जनाले आफूलाई जबरजस्ती करणीसमेत गरेको आरोप लगाएकी छिन्।
कार्यक्रम सकिएपछि एभरेस्ट होटलमा भएको पार्टीमा आफूमाथि हिंसा भएको उनको दाबी छ। उक्त भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि मिडियासम्ममा सौन्दर्य प्रतियोगितामा भएको हिंसाको घटनाबारे चर्चा सुरु भएको छ। उक्त विषयलाई गम्भीरतापूर्व लिँदै अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।