काठमाडौं– घर जानु एक दिनअघि मात्रै वसन्त कुमार लामालाई सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी)मा बढुवा गरेको छ। ५६ वर्षे उमेर हदका कारण शनिबार अनिवार्य अकाशमा जान लागेका लामालाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लामालाई एआईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो।
लामालाई एआईजीपीमा बढुवाका लागि केही दिन अघिमात्रै सिफारिस गरिएको थियो। बढुवा समितिको उक्त सिफारिसलाई सदर गर्दै शुक्रबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले लामालाई एआईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो।
सरकारको यो निर्णयसँग लामालाई एआईजीपीको फुली लगाउने बाटो खुलेको छ। लामालाई शुक्रबार नै एआईजीपीको फुली लगाउने तयारी समेत प्रहरी प्रधान कार्यालयले गरिसकेको छ।
भोलि शनिबार बिदाको दिन भएको र भोलिबाटै उनी अवकाशमा जाने भएकाले शुक्रबार नै फुली लगाउने तयारी गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ।
यसअघि भने सरकारले घर जान लागेका व्यक्तिलाई विशष्टि श्रेणीमा बढुवा गरेर घर पठाउँदा आर्थिक भार बढ्ने भन्दै बढुवा नगरी बिदा गर्दै आइएको थियो। तर, लामालाई भने अवकाशमा जानु अघिल्लो दिनमात्रै बढुवा गरिएको छ।
त्यसैगरी सशस्त्र प्रहरी बलका डीआईजी नारायणदत्त पौडेललाई पनि एआईजीमा बढुवा गर्ने निर्णय गरिएको छ। उनको पनि करिब दुई साता अघि नै एआईजीपी बढुवाका लागि सिफारिस भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।