काठमाडौं–नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुन ‘अनन्त’ ले राष्ट्रिय अर्थतन्त्रमा उत्पन्न संकटका लागि अर्थमन्त्री जनार्दन शर्मालाई मात्र जिम्मेवार ठहर्याइनु जायज नभएको बताएका छन् ।
पूर्वअर्थमन्त्री समेत रहेका पुनले अहिले विश्वव्यापी रुपमै अर्थतन्त्रमा संकट उत्पन्न भएको र त्यसको मूल कारण कोभिड–१९ महामारी रहेको औंल्याए। ‘कोभिडका कारण उब्जिएको अर्थतन्त्रको समस्या विश्वव्यापी हो’, बिहीबार एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा पुनले भने, ‘दोष अर्थमन्त्रीको टाउकोमा मात्र थोपरेर हुँदैन ।’ अर्थतन्त्र सुधारका लागि पनि अर्थमन्त्री एक्लैको प्रयास सार्थक नहुने भन्दै पुनले प्रधानमन्त्रीको अग्रसरता हुनुपर्नेमा जोड दिए।
बिप्रेषण आप्रवाहमा सुधार आएको र पुँजीगत खर्च बढेकाले अर्थतन्त्र क्रमशः चलायमान हुने दिशामा रहेको पुनले उल्लेख गरे। गभर्नर महाप्रसाद अधिकारीको बर्खास्ती प्रकरणमा असन्तुष्टि सार्वजनिक गरेको विषयमा सोधिएको प्रश्नमा पुनले सर्वोच्च अदालतको फैसलाले अधिकारीको पुनबर्हाली भइसकेकाले उक्त सन्दर्भ पुरानो भएको बताए।
उनले गभर्नर बर्खास्तीमा अर्थमन्त्रीलाई मात्र दोषारोपण गर्न नहुने भन्दै प्रधानमन्त्रीले त्यसको मुख्य जिम्मेवारी लिनुपर्ने तर्क गरे। अहिले अर्थमन्त्री र गभर्नरबीच समन्वय भइरहेको आफूले पाएको भन्दै पुनले आगामी दिनमा त्यसको असर नपर्ने विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।