काठमाडौं– करिब २९ लाख रुपैयाँ बराबरको अवैध सुनसहित एक युवक पक्राउ परेका छन्। झापाको मेचिनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध सुनसहित कैलाली घर भइ दमक नगरपालिका–२ मा बस्दै आएका ३३ बर्षीय धिरेन्द्र जैसी पक्राउ परेका हुन्।
बुधवार दिउँसो साँढे १ बजे भारतबाट नेपाल तर्फ आँउदै गरेका जैसीलाई अबैध सुनसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले जैसीलाई पक्राउ गरेको हो।
शंकास्पद रुपमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका जैसीलाई जाँच गर्ने क्रममा उनको साथबाट ३४९ दशमलव ७०० ग्राम सुन बरामद भएको प्रहरीले जानकारी दिएको छ। बरामद भएको सुनको बजारमूल्य अनुसार २८ लाख ८७ हजार १८२ रुपैयाँ छ।
सुनसहित पक्राउ परेका जैसीलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय बुझाइएको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।