काठमाडौं– सिंहदरबारभित्रै रुखको हाँगाले लागेर राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का एक कर्मचारीको मृत्यु भएको छ।
बुधबार राति आएको हावाहुरीका कारण सिंहदरबारभित्र रहेको गुप्तचर कार्यालयको कम्पाउण्डमा रहेको रुखको हाँगा भाँचिएर राअविका सूचक विजय कार्कीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए।
रुखको हाँगाले लागेर पाल्पा घर भएका २७ वर्षीय सूचक गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुर्याइएको थियो।
उपचारको क्रममा राति ११ बजे उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
कार्कीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको एसपी मैनालीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।