काठमाडौं– भक्तपुरका चारवटै स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। जसमा दुई स्थानीय तहको नेतृत्वमा नेपाली कांग्रेस विजयी भएको छ भने नेकपा एमाले र नेमकिपाले एक/एक स्थानीय तहमा जित हासिल गरेका छन्।
भक्तपुरको ठूलो नगरपालिका भक्तपुरमा नेमकिपाले जित हासिल गरेको छ। यो नगरपालिकामा नेमकिपाले 'क्लीन स्वीप' नै गरेको छ। प्रमुखमा नेमकिपाका सुनिल प्रजापतिले २९ हजार २५२ मत प्राप्त गरेर विजयी भएका हुन्।
नेपाली कांग्रेसका राप्रसाद कासुलाले ३ हजार ४०७ मत प्राप्त गरे। नेकपा एमालेका रवीन्द्र लाछिमस्युले २ हजार ८४१ मत प्राप्त गरे।
उपप्रमुखमा नेमकिपाकै रजनी जोशीले २९ हजार ७५९ मत प्राप्त गरिन। नेकपा एमालेकी रञ्जना खर्बुजाले २ हजार ९८८ मत प्राप्त गरिन्। १० वटै वडाका अध्यक्ष, सदस्य, महिला सदस्य समेत नेमकिपाले नै जितेको छ।
चाँगुनारायण नगरपालिकामा भने नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका जीवन खत्रीले ९ हजार ५५० मत ल्याएर विजयी भएका हुन्। नेकपा एमालेकी विना बास्तोलाले ९ हजार १६० मत प्राप्त गरिन्।
उपप्रमुखमा भने नेकपा एमालेका रमेश बुढाथोकीले ११ हजार १०७ मत प्राप्त गरेर विजयी भए। नेपाली कांग्रेसकी सुभद्रा काफ्लेले ९ हजार ७६ मत प्राप्त गरिन्। ९ वडा रहेको यो नगरपालिकामा नेपाली कांग्रेसले ४ वडामा जित हासिल गरेको छ भने नेकपा एमालेले २, राप्रपाले २ र नेमकिपाले १ वडा जितेको छ।
मध्यपुर थिमी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका सुरेन्द्र श्रेष्ठले १५ हजार ९८ मत ल्याएर विजयी भएका हुन्। उनले नेकपा एमालेका निवर्तमान प्रमुख समेत रहेका मदनसुन्दर श्रेष्ठलाई पराजित गरे। मदन सुन्दरले ११ हजार ३५ मत प्राप्त गरे।
उपप्रमुखमा भने नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ १२ हजार १०२ मत ल्याएर निर्वाचित भए। नेकपा एमालेकी उत्तरा नेपालले ८ हजार ९६३ मत प्राप्त गरिन्। यो नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरेका थिए।
यो नगरपालिकाका ९ वडामा नेपाली कांग्रेसले ६ वडामा जित निकालेको छ भने नेकपा एमालेले २ वडा जितेको छ। एक वडा नेमकिपाले जितेको छ।
त्यस्तै, सूर्यविनायक नगरपालिकाको प्रमुख र उपप्रमुख भने नेकपा एमालेले जितेको छ। प्रमुखमा बासुदेव थापाले १४ हजार ७५८ मत ल्याएर निर्वाचित भए। नेपाली कांग्रेसका निशान ढुङ्गेलले १३ हजार २३२ मत प्राप्त गरे।
उपप्रमुखमा पनि एमालेकै सरिता भट्टराई तिमिल्सिना १४ हजार ४९० मत ल्याएर निर्वाचित भइन्। उनले कांग्रेस–समाजवादीको गठबन्धनका उम्मेदवार श्याम सुन्दर बस्नेतलाई पराजित गरिन्।
बस्नेतले ६ हजार ६६१ मत प्राप्त गरे। यो नगरपालिकामा नेकपा एमालेले ५ वडा र नेपाली कांग्रेसले ५ वडामा जित हासिल गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।