काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) मद्रासबीच दुई सम्झौतामा हस्ताक्षर भएको छ। यी दुई संस्थाबीच नेपाल र भारतका प्रधानमन्त्रीको रोहबरमा ‘मेमोरेण्डम अफ एक्सचेञ्ज’ र ‘लेटर अफ एग्रिमेन्ट’मा हस्ताक्षर भएको हो।
पहिलो सम्झौताले दुई शैक्षिक संस्थाबीचमा शैक्षिक सहकार्यको ढोका खोल्ने रदोस्रोले इन्जिनियरिङ संकायअन्तर्गत इनर्जी स्टडिजमा दुवै संस्थाले संयुक्त डिग्री प्रदान गर्नेगरी स्नातकोत्तर विषयको पठनपाठन सुरु हुनेछ।
केयू र आईआईटीबीच सन् १९९८ मै शैक्षिक क्षेत्रमा सहकार्य गर्ने सहमति भएकोमा सोही सहकार्यलाई निरन्तरता दिँदै दुवै शैक्षिक संस्थाले नयाँ कार्यक्रम थालनी गर्न लागेका हुन्। नेपाललगायत भारतका छिमेकमा रहेका विद्यार्थीको आईआईटीप्रतिको आकर्षणलाई केयूमार्फत सम्बोधन गरिने केयूले जनाएको छ।
भारतीय शैक्षिक संस्थाहरु छिमेकमा समेत विस्तार गर्ने भारत सरकारकै नयाँ नीति रहेको र त्यही अनुरुप सम्झौतामा हस्ताक्षर भएको केयूले जनाएको छ।
सोही समारोहमा उपकुलपति प्राडा भोला थापा र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच आईसीसीआर चेयर प्रोफेसर केयूमा रहने गरी भएको अर्को सम्झौता पनि आदानप्रदान भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।