धनगढी- कैलालीमा पुराना र ठूला दललाई स्वतन्त्र र साना दलले चुनौती दिएका छन्। जारी मतगणना नियाल्दा सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका कांग्रेसलाई जोगाउन मुस्किल देखिएको छ।
२०७४ सालको स्थानीय तहको निर्वाचन र प्रदेश सभा सदस्यमा यस उपमहानगरपालिका क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए।
हाल मतगणना उपमहानगरपालिकाको नयाँ भवनमा जारी छ। जारी मतगणनामा अहिले यहाँ सत्ता गठबन्धनका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवारले दोब्बर मतले अग्रता लिएका छन्।
बुधबारको पछिल्लो अपडेटअनुसार मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले १० हजार ८२५ मत पाएका छन्। यस्तै, गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ५ हजार १६६ मत प्राप्त गरेका छन्। एमालेका रणबहादुर चन्दले जम्मा २ हजार ४६२ मत पाएका छन्।
२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रले जितेको भजनी नगरपालिकामा यसपल्ट नयाँ दलले झण्डा गाड्ने सम्भावना छ। अहिलेको स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा पाँच महिना अघि रेशम चौधरीपत्नी रञ्जना श्रेष्ठ चौधरीको अध्यक्षतामा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले अग्रता कायम गरेको छ।
उक्त पार्टीका केवल चौधरीले ४ हजार ५४५ मत ल्याएका छन् भने शेरबहादुर चौधरीले २ हजार ९२७ मतसहित पछ्याइरहेका छन्। धनगढी र भजनीमात्र होइन कैलालीमा ठूला दलको प्रभाव क्षेत्र मानिएको स्थानीय तहमा अहिले स्वतन्त्र र साना दलहरुको दबदबा रहेको छ।
कैलालीको टीकापुर, जानकी, जोशीपुरमा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ।
टीकापुरमा २०७४ सालको निर्वाचनमा प्रमुखमा नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावल र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार केशरी विष्ट निर्वाचित भएकी थिइन्।
टीकापुरमा अहिले नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार रहेका रामलाल डगौरुा थारुले दुई हजार पाँच सय मत बढीले अग्रता कायम गरेका छन्।
समाचार तयार गर्दासम्म उनले ७ हजार सात सय ९७ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नवराज रावलले ५ हजार २ सय ८३ मत प्राप्त गरेका छन्।
हालसम्मको मत परिणाम अनुसार टीकापुरका दुई वडामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार वडाध्यक्ष निर्वाचित भइसकेका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामजनम चौधरीको प्रभाव क्षेत्र रहेको जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवारले अग्रत कायम गरेका छन्।
सो पार्टीबाट अध्यक्ष पदमा उम्मेदवार रहेका गणेश चौधरीले दुई हजार चार सय ९४ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार परशुराम महतोले १ हजार नौ सय ६१ मत प्राप्त गरेका छन्।
जोशीपुर गाउँपालिकामा २०७४ सालको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए। अहिले सो गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार चित्रबहादुर चौधरीले अग्रता लिएका छन्।
समाचार तयार पारुन्जेल उनले ४ हजार ८० मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका भीमबहादुर बमले दुई हजार सात सय १२ मत प्राप्त गरेका छन्।
सो गाउँपालिकाको चार वडामा नागरिक उन्मुक्ति पार्टीले वडाध्यक्ष जितिसकेको छ। एक वडामा जनता समाजवादी पार्टीका उम्मेदवार निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।