कास्की– कास्कीका पाँच पालिकामध्ये चार पालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। तर, पोखरा महानगरपालिकाका मतगणना सुस्त भएको छ।
वैशाख ३१ गतेबाट पोखराको मतगणना सुरु भएकोमा महानगरका ३३ वडामध्ये हालसम्म वडा नम्बर १, २, ४, १२ र २३ को मात्र अन्तिम परिणाम घोषणा भएको छ।
निर्वाचनमा पोखरा महानगरपालिकामा एक लाख ४३ हजार २२६ मत खसेकामा चार दिनमा ३१ हजार मतमात्र गणना गरिएको छ। पोखरामा अझै २९ वडाको परिणाम आउन बाँकी छ ।
मतगणना सुस्तगतिमा भइरहेकाले पोखरा अन्तिम परिणाम आउन अझै लामो समय कुर्नुपर्ने देखिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दुईवटा गणनास्थल थप गरेको छ। मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी निलप्रसाद पनेरुका अनुसार मंगलबार रातिदेखि दुई मतगणनास्थल थप गरिएको हो।
पोखराको गणना नगर विकास समितिको सभाहल र जिल्ला समन्वयको हलमा छ मतगणनास्थलको १० सर्कलबाट भइरहेकोमा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयको भवनमा गणनास्थल थप गरिएको हो। गणनास्थल थप गरिएपछि गणना छिटो हुने विश्वास लिइएको छ।
पोखरामा सत्ता गठबन्धनबाट प्रमुखका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले अग्रता लिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।