काठमाडौं— वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको मतगणना जारी रहेको छ। मतगणनाको पछिल्लो विवरण अनुसार ४ वटा पालिकामा दुई राजनीतिक दलले कुनै पनि पदमा अन्य दलका उम्मेदवारलाई जितको अवसर दिएनन्।
बाजुराको गौमुल, पाल्पाको निस्दी र पूर्वखोलामा एमालेले प्रमुदेखि वडा अध्यक्ष र सदस्यमा जित हात पारेको हो। यस्तै भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले अन्य दलका उम्मेदवारलाई जितको कुनै अवसर नै दिएन।
बाजुराको गौमुल गाउँपालिका नेकपा एमालेले सिँगो प्यानलसहित जित हात पारेको छ। अध्यक्षमा हरिबहादुर रोकायाले ३ हजार ४३४ मत प्राप्त गर्दै जित हासिल गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका हिरेन्द्र रोकायाले १ हजार ४७० मत प्राप्त गरेका छन्।
त्यस्तै उपाध्यक्षमा नेकपा एमालेकी सिता रोकाया थापाले ३ हजार १९४ मत प्राप्त गर्दै जित हासिल गर्दा प्रतिस्पर्धी नेपाली कांग्रेसकी उमा रोकायाले १ हजार ७४४ मत प्राप्त गरिन्।
२०७४ सालको स्थानीय चुनावमा हरि बहादुर रोकायाले २२ सय ४० मत ल्याएका थिए भने कांग्रेसका देव बहादुर रोकायाले १४ सय ९१ मत ल्याएका थिए ।
त्यस्तै, उपाअध्यक्षमा सिता रोकाया थापाले २२ सय १ र कांग्रेसकी उमा रोकायाले १५ सय १० मत ल्याएकि थिइन्।
त्यस्तै, २०७४ को स्थानीय चुनावमा नेपाली कांग्रेसले वडा नम्बर २ मात्र जितेको थियो तर यसपटक भने कुनै पनि वडामा कांग्रेसले जित हासिल गर्न सकेन्। वडा सदस्यहरु पनि एमालले जितेको छ।
गौमुल गाउँपालिकामा ६ वटावडासहित ३२ पदमा भएको निर्वाचनमा ३२ जना नै एमालेबाट विजयी भए।
वडा नम्वर १ मा देव बहादुर रोकाया, वडा नम्वर २ मा देव बहादुर रोकाया, वडा नम्वर ३ मा गोरख बहादुर बोहोरा , वडा नम्वर ४ मा अम्मर बहादुर बिक, वडा नम्वर ५ मा कलक बहादुर सिंह र वडा नम्वर ६ मा प्रकाश बहादुर रोकायाले जित निकालेका हुन्।
गठबन्धनलाई पराजित गर्दै पाल्पामा एमालेको 'क्लिन स्वीप'
पाल्पाको निस्दी गाउँपालिकामा नेकपा एमालेले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई पराजित गर्दै गाउँपालिकाभर नै क्लिन स्वीप गरेको छ। नेकपा एमालेले गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्दप्रसाद अर्याल उपाध्यायलाई पराजित गर्दै एमालेका मुक्तबहादुर सारु निर्वाचित भएका छन्।
सारुले ६ हजार ६५२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उपाध्यायले ३ हजार ४६६ मत प्राप्त गरे। यस्तै उपाध्यक्षमा तिरनकुमारी श्रेष्ठले ६ हजार ६३८ मत ल्याएर निर्वाचित भएकी छन् भने नेकपा माओवादी केन्द्रका रामप्रसाद खत्रीले ८३० मत मात्रै प्राप्त गरे।
त्यस्तै, ७ वटा वडा रहेको उक्त गाउँपालिकामा सबै वडामा नेकपा एमालेका उम्मेदवार नै निर्वाचित भएका छन्। १ मा यमबहादुर राना, २ मा फत्ते सिं दर्लमी, ३ मा नविन्द्र थापा सोती, ४ मा सन्तवीर सुनारी, ५ मा दुर्गाबहादुर सोमै, ६ मा मेखबहादुर सुनारी र ७ मा मुक्त बहादुर पाटा निर्वाचित भएका छन्।
यस्तै, ७ वटै वडामा सदस्य, महिला सदस्य, दलित महिला सदस्य पनि नेकपा एमालेकै उम्मेदवार निर्वाचित भएका छन्।
पाल्पाकै पूर्वखोला गाउँपालिका अध्यक्षमा एमालेका नुनबहादुर थापा ६ हजार ३९ मतसहित विजयी भए। उनका प्रमुख प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका मिन प्रसाद गिरीले १ हजार २५७ मत पाए। उपाध्यक्षमा एमालेकी भागिरथि शर्मा (भट्टराई)ले ५ हजार ८९४ मतसहित निर्वाचित हुँदा कांग्रेसकी विष्णुकुमारी आचार्यले २ हजार २५० मत पाइन्। यो पालिकाका ६ वटै वडामा एमाले प्यानलसहित विजयी भयो।
वडा १ मा गिरीमान आले, २ मा निरबहादुर सारु, वडा नम्बर ३ कृष्णप्रसाद भट्टराई, वडा नम्बर ४ मा मेहर सिं थापा, ५ मा विष्णुकुमारी पाल्ली र वडा नम्बर ६ मा धनबहादुर घर्ति विजयी भएका हुन्।
भक्तपुरमा 'सदाबहार' मादल
भक्तपुर जिल्लाको भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले अन्य दललाई कुनै अवसर दिएन। मादल चुनाव चिह्न रहेको नेमकिपाबाट नगर प्रमुख, उपप्रमुख र सबै वडामा नेमकिपाका उम्मेदवार विजयी भएका हुन्।
यसअघि समेत मेयर रहेका सुनिल प्रजापति २९ हजार २५२ मत ल्याउँदै पुनः मेयर निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार राम प्रसाद कासुला २५ हजार ८४५ मतको अन्तरले पछि परे।
कांग्रेसका उम्मेदवार कासुलाले ३ हजार ४०७ मत मात्रै ल्याए। यस्तै, नेकपा एमालेका उम्मेदवार रवीन्द्र लाछिमस्युले २ हजार ८४१ मत ल्याए भने स्वतन्त्र उम्मेदवार सत्य राम त्वायनाले २ हजार ३९९ मत ल्याए।
उपप्रमुखमा पनि नेमकिपाकै रजनी जोशी २९ हजार ७५९ मत ल्याएर विजयी भइन्। उनका प्रतिस्पर्धी नेकपा एमालेकी रञ्जना खर्बुजाले २ हजार ९८८ मत ल्याइन्। प्रजापति र जोशी दोस्रो कार्यकालकालागि निर्वाचित भएका छन्।
१० वटा वडा रहेको भक्तपुर नगरपालिकाका सबै वडामा नेमकिपाका उम्मेदवार विजयी भएका छन्। वडा नम्बर १ को वडाध्यक्षमा श्याम कृष्ण खत्री, २ को वडाध्यक्षमा हरि प्रसाद बासुकला, ३ को वडाध्यक्षमा राजकृष्ण गोरा, ४ को वडाध्यक्षमा उपेन्द्र सुवाल निर्वाचित भएका छन्।
यस्तै, वडा नं ५ को वडाध्यक्षमा योगेन्द्र मान बिजुक्छें, ६ को वडाध्यक्षमा हरिराम सुवाल, ७ को वडाध्यक्षमा उकेश कवां, ८ को वडाध्यक्षमा कृष्ण प्रसाद कोजू, ९ को वडाध्यक्षमा रवीन्द्र ज्याख्व र १० को वडाध्यक्षमा लक्ष्मीप्रसाद हयौमिखा निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।