डडेल्धुरा-सात स्थानीय तह रहेको डडेल्धुराका छ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ। तिनमा नेपाली कांग्रेसले चार र माओवादीले दुई स्थानीय तहको प्रमुखमा जीत हात पारेका छन्।
परशुराम नगरपालिकाको अन्तिम मत परिणाम आउन बाँकी छ। अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ। नेपाली कांग्रेस (विपी) र नेकपा एमालेको गठबन्धनका उम्मेदवारलाई हराउँदै नगरप्रमुखमा डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल निर्वाचित भएका हुन्। कांग्रेस (विपी) र एमालेका गठबन्धनका उम्मेदवार हरि भट्टलाई हराउँदै प्रमुखमा जोशी र गठबन्धनकै उम्मेदवार यज्ञराज अवस्थीलाई हराउँदै झुकाल निर्वाचित भए।
प्रमुखमा निर्वाचित जोशीले तीन हजार ६१९ मत ल्याए। उनका प्रतिद्वन्द्वी भट्टले तीन हजार ४२६ मत प्राप्त गरेका छन्। यस्तै झुकालले तीन हजार ६७८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी यज्ञराज अवस्थीले तीन हजार ८५ मत पाए।
अजयमेरु गाउँपालिका प्रमुखमा भट्ट
अजयमेरु गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। अध्यक्षमा माओवादी केन्द्रका उमेशप्रसाद भट्ट र उपाध्यक्षमा नेपाली कांग्रेसकी वसन्ती पाल निर्वाचित भएका हुन्। एमाले उम्मेदवार पदम पाललाई हराउँदै भट्ट र माओवादी केन्द्रकी उम्मेदवार कलावती भाणलाई पछि पार्दै कांग्रेसकी पाल विजयी भए।
अध्यक्षमा निर्वाचित भट्टले दुई हजार ४६९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी पालले दुई हजार २९७ मत ल्याए। २०७४ को स्थानीय तह निर्वाचनमा पनि माओवादी केन्द्रका भट्ट नै विजयी भएका थिए।
नवदुर्गा गाउँपालिका प्रमुखमा अवस्थी
नवदुर्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। अध्यक्षमा नेपाली कांग्रेसबाट निर्वाचित लक्ष्मीप्रसाद अवस्थीले दुई हजार ८७९ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका कविन्द्र बिष्टले दुई हजार ६०६ मत ल्याए।
उपाध्यक्षमा कांग्रेसकी निर्मला बिष्ट तीन हजार २०८ मत ल्याई निर्वाचित भइन्। उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी चन्द्रा रूपालीले दुई हजार ३६७ मत पाइन्।
आलिताल गाउँपालिका प्रमुखमा पार्की
आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ। अध्यक्षमा माओवादी केन्द्रबाट निर्वाचित शेरसिंह पार्कीले दुई हजार ३८९ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले दुई हजार २२४ मत पाएका थिए ।
उपाध्यक्षमा निर्वाचित मैनाकुमारी रावलले दुई हजार ६०२ मत प्राप्त गरिन्। कांग्रेसका उम्मेदवारले दुई हजार २४१ मत ल्याएकी थिइन् ।
गन्यापधुरा गाउँपालिका प्रमुखमा कार्की
गन्यापधुरा गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
कांग्रेसबाट अध्यक्षका उम्मेदवार इन्द्रबहादुर कार्कीले तीन हजार १८४ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस (विपी) का सुरेन्द्रबहादुर मालीले एक हजार ६०६ मत ल्याएका थिए। उपाध्यक्षका उम्मेदवार ज्ञानु सेटीले तीन हजार १३ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्र महराले एक हजार ७०३ मत प्राप्त गरे।
भागेश्वर गाउँपालिका प्रमुखमा चटौत
डडेलधुराको भागेश्वर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका हेमराज चटौत दुई हजार ३११ मतसहित पालिका अध्यक्षमा विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर शाहीले एक हजार ७८ मत ल्याए। यस्तै उपाध्यक्षमा काँग्रेसकै पुष्पा ठकुराठी दुई हजार ३४८ मतसहित निर्वाचित भइन्। उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी गीता भट्टले ८३२ मत मात्र प्राप्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।