काठमाडौं– वैशाख ३० मा मतपत्र दिने क्रममा विवाद उत्पन्न भएपछि स्थगित भएको काभ्रेको पाँचखाल–१३को चुनाव सुरु भएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारका अनुसार बिहान ७ बजेबाट मतदान सुरु भएको छ।
वडा नम्बर १३ मा रहेको श्रीराम माध्यमिक विद्यालयमा दुई वटा मतदान केन्द्र राखेर मतदान भइरहेको सुनुवारले बताए। सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारको नेतृत्वमा प्रमुख कोष नियन्त्रक हेमन्तराज निरौलालाई मतदान अधिकृतको रुपमा राखिएको छ।
‘बिहानबाट मतदान सुरु भएको छ,’ सुनुवारले नेपाल लाइभसँग भने, ‘अहिले राम्रोसँग मतदान चलिरहेको छ। सुरक्षादेखि सबै हिसाबले राम्रोसँग मतदान भइरहेको छ।’
वैशाख ३० मा विवादका कारण स्थगित भएको मतदान मंगलबार भएको हो। हाल मतदान भइरहेको वडामा १७ सय ७८ मतदाता रहेको सुनुवार बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।