काठमाडौं- राप्रपाले काठमाडौंको शंखरापुर नगरपालिकासहित देशभरिका तीन पालिकामा अग्रता हासिल गरेको छ। अन्य दुई पालिका झापाका छन्।
राप्रपा काठमाडौंको शंखरापुरमा एक्लै प्रतिश्पर्धामा छ। यो पालिकामा चार दलको प्रतिश्पर्धा हुँदा राप्रपाले अग्रता हासिल गरेको छ। यसअघि अग्रता लिएका एमाले उम्मेदवार अहिले तेस्रो स्थानमा पुगेका छन्।
राप्रपाका रमेश नापितले २ हजार ५५३ मत पाएका छन्। उनलाई पछ्याइरहेका एकीकृत समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठले २ हजार ५०५ र एमालेका कृष्णलाल बजगाईंले २ हजार ३२८ मत पाएका छन्। यहाँ एकीकृत समाजवादी र कांग्रेसले गठबन्धन गरेका छन्।
यो पालिकामा माओवादी केन्द्रका मधु केसी पनि प्रतिश्पर्धामा छन्। उनले २००३ मत पाएका छन्।
उपमेयरमा भने राप्रपा चौँथो स्थानमा छ। अग्रता लिइरहेकी कांग्रेसकी समिता श्रेष्ठले ३ हजार २३, एमालेकी लक्ष्मी केसीले १ हजार ५७९ र माओवादी केन्द्रकी चण्डिका चौलागाईंले १ हजार २८५ मत पाएका छन्। राप्रपाकी विजयकुमारी वाइवाले भने १ हजार १ मत पाएकी छिन्।
उता झापाको हल्दिबारी गाउँपालिकामा पनि राप्रपाले अग्रता लिएको छ। यहाँ पनि राप्रपा एकल प्रतिश्पर्धामा छ। यहाँ राप्रपाका रविन्द्रप्रसाद लिङदेनले ३ हजार १५५ मत पाउँदा एमालेका डम्बरबहादुर गिरीले १ हजार ९७३ मत पाएका छन्।
त्यस्तै उपमेयरमा राप्रपाकी लक्ष्मीदेवी मैनालीले २ हजार ४२२ मत पाउँदा एमालेकी शान्तादेवी गौतमले १ हजार ९८९ मत पाएकी छिन्।
उता दमकमा भने राप्रपाले कांग्रेस, माओवादी र एकीकृत समाजवादीसँग गठबन्धन बनाएर मेयरमा उम्मेदवार बनाएको छ। यहाँ मयेरमा राप्रपाका राम थापा ५ हजार ८६० मतसहित अग्रता कायम गरिरहेका छन्। उनलाई एमालेकी गीताकुमारी पौडेल अधिकारीले ५ हजार २१८ मतसहित पछ्याइरहेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।