काठमाडौं- आइतबार मात्रै नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा तीन चरणमा धाँधली भएको आरोप लगाएपछि सत्ताको नेतृत्वकर्ता दल कांग्रेसले प्रतिवाद गरेको छ। निर्वाचनमा धाँधली भयो भन्नु गैरजिम्मेवारीपनको पराकाष्ठा भएको कांग्रेसको ठहर छ।
'निर्वाचनको परिणाम आफूले दाबी गरेजस्तो नआएपछि निर्वाचनको सम्पूर्ण चाँजोपाँजो मिलाउने निर्वाचन आयोग, आयोगको माग र खटनपटन अनुसार काम गर्ने राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीले निर्वाह गरेको जिम्मेवारीलाई लिएर सरकारलाई योजनाबद्धरुपमा धाधली गर्यो भन्नु गैरजिम्मेवारीपनको पराकाष्ठा हो,' कांग्रेस प्रवक्ता प्रकाशशरण महतद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
निर्वाचनमा नेपाली कांग्रेस र गठबन्धनमा सहभागी अन्य दलहरुको पक्षमा आएको परिणाम र देशभरका पालिकामा मत गणनाको प्रारम्भिक नतिजाको प्रवृत्ति (रुझान) ले नेकपा (एमाले) अत्तालिएको कांग्रेसले ठहर गरेको छ।
कांग्रेसले आफूहरुले गरेको तालमेलको पनि बचाउ गरेको छ। 'राष्ट्रहित र लोकतन्त्रको संरक्षणको उद्देश्यले भएको यो तालमेललाई गठबन्धनमा संलग्न हुनुहुने सबै राजनीतिक दलहरु र सम्बन्धित दलका नेता तथा कार्यकर्ता, शुभेच्छुक र समर्थक मतदाताहरुले विश्वास गर्नुभयो। यही विश्वासको जगमा सत्तारुढ गठबन्धनको पक्षमा स्थानीय तहको निर्वाचनको नतिजा आइरहेको छ। यसलाई हामीले स्वभाविक मानेका छौं,' विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।