काठमाडौं– स्थानीय तह निर्वाचनअन्तर्गत मतदानको दिन शुक्रबार बिहानै नयाँ बानेश्वरस्थित संसद् भवन नजिकै सिलिण्डर विस्फोट भएको घटना सार्वजनिक भएको छ। घटना भएको १२ घण्टा पछि मात्रै सिलिण्डर विस्फोट भएको घटना सार्वजनिक भएको छ। प्रहरीले उक्त घटनालाई गोप्य राखेको थियो।
जिल्ला प्रहरी प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदिप गिरीले सिलिण्डर विस्फोट भएको जानकारी दिए। ‘घटना आज (शुक्रबार) बिहान २:२५ बजेको समयमा भएको हो। केही पड्केको आवाज आएपछि प्रहरी टोली घटनास्थल पुगेको हो,’ उनले भने,‘सिलिण्डरमा आगो लगाएर त्यहाँ विस्फोट गराइएको थियो।’
सिलिण्डर विस्फोट गराउने उद्देश्यले नै आगो लगाएर छाडिएको पाइएको उनले बताए। ‘उक्त घटना कसले र किन गरायो भन्ने विषयमा हामी अनुसन्धान नजिक पुगिसकेका छौं,’ उनले भने,‘पहिचान भइसकेको छ। अहिले अनुसन्धानको विषय नै भएकाले सार्वजनिक गर्न मिल्दैन।’
प्रहरी स्रोतका अनुसार निर्वाचनकै दिन भएको घटना सार्वजनिक हुँदा त्यसले सर्वसाधरण त्रसित हुन सक्ने भन्दै गोप्य राखिएको थियो। घटनामा कुनै क्षति भने भएको छैन। नयाँ बानेश्वरस्थित संसद् भवन क्षेत्रमा २४सै घण्टा सुरक्षाकर्मीहरु तैनाथ हुने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।