काठमाडौं- फुटबलको सर्वोच्च निकाय फिफाबाट १० वर्षे प्रतिबन्ध भोगिरहेका अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले आफूविरुद्ध हालका अध्यक्ष कर्माछिरिङ शेर्पाले लगाएको १४ आरोप सार्वजनिक गर्दै प्रमाणित गर्न चुनौती दिएका छन्।
बुधबार ललितपुरस्थित एक होटलमा पत्रकार सम्मेलन गर्दै थापाले आफू र परिवार अन्यायमा परेको, मानसिक रुपमा प्रतिडित भएको बताउँदै आरोप प्रमाणित गर्न चुनौती दिएका हुन्।
‘उहाँका यस्ता निराधार आरोपहरुका कारण विगत ७ वर्षदेखि म र मेरो परिवारमा अत्यन्तै गहिरो मानसिक आघात पुगेको छ। कपोकल्पित आरोपहरुका कारण आम फुटबलप्रेमीमा फिफाले मलाई कारबाही गरेको तर त्यही विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाँहि सफाइ दिएको भन्ने भ्रम पर्न गएको छ,’ उनले भने।
आफूमाथि लगाएका आरोपहरु प्रमाणित गर्न नसके शेर्पाले एन्फा विधान र फिफाको कोड अफ इथिक्सअनुसार कारबाही भोग्नुपर्ने समेत उनले चेतावनी दिए।
‘म र मेरो परिवार अब लामो समयसम्म मानसिक पीडामा बसिरहन चाहन्नौं। यसअर्थ अब उहाँसँग दुई विकल्पमात्र बाँकी छन्। उहाँले ममाथि लगाएका आरोपहरु प्रमाणित गर्न सक्नुपर्छ। त्यसो भए म कारबाही भोग्न तयार छु,’ थापाले भने, ‘अन्यथा एन्फा विधानको धारा ८ र फिफाको कोड अफ इथिक्सको आर्टिकल ५८ को बुँदा नम्बर ३ अनुसार उहाँले कारबाही भोग्नुपर्छ। एन्फा र फिफाको विधानअनुसार पनि निर्दोष व्यक्तिउपर निराधार आरोप लगाउन पाइन्न।’
पत्रकार सम्मेलनमा १५ वर्ष सँगै व्यवस्थापनमा रहेका शेर्पाले आफूप्रति लगाएको आरोप प्रेस विज्ञप्ति र भिडियोमार्फत् थापाले प्रस्तुत गरेका थिए। शेर्पाले विभिन्न अनलाइन तथा टिभीमा थापाविरुद्ध दिएको अन्तर्वार्ता पनि भिडियोमा देखाइएको थियो।
थापाले बुँदागत रुपमा १४ वटा आरोप प्रमाणित गर्न शेर्पालाई चुनौती दिएका छन्। गोल्ड प्रोजेक्ट अन्तर्गत आएको १९ लाख अमेरिकी डलर एन्फाको अडिटमा नदेखाएको तथा नगरपालिकाहरुले दिएको रकमहरु पनि अडिटमा नदेखाएको आरोप लगाइएको छ।
थापाले ठूलो आर्थिक अनियमितता गरेको, एन्फामा फिक्स डिपोजिटमा जम्मा गरिएको ८ करोड रुपैयाँ गैरकानुनी तरिकाले एन्फाको रकम ब्याजमा लगाएको, एन्फालाई आएको रकम परिवारको नाममा राखि अनियमितता गरेको, खेलाडी कल्याण कोषमा जम्मा गरेको ५० लाख रुपयाँको स्रोत नखुलेको, साथी संस्थालाई १ लाख ५० हजार डलर दिएको, एन्फाको रकम ३२ प्रतिसतमा ब्याजमा लगाएको, रंगशालामा दर्शकबाट उठेको २८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा नगरेको र अडिटमा नदेखाएको भन्ने झुटा आरोप शेर्पाले आफूमाथि लगाएको थापाले दाबी गरेका छन्।
त्यस्तै, सार्वजनिक लेखा समितिले ५८ करोड रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको, कतार फुटबल संघले ८ लाख डलर दिएकोमा एन्फाको खातामा २० लाख डलरमात्र जम्मा गरेर अन्य रकम हिनामिना गरेको, एएफसीबाट प्रशिक्षकलाई आएको रकम अडिटमा नदेखाएको, साफ च्याम्पियनसिपको दौरानमा २ करोड ५० लाख रुपैयाँ आम्दानी भएकोमा जम्मा ८५ लाख मात्र एन्फाको अडिटमा देखाएको, अरेन्ज प्रोजेक्टर सुनामी प्रोजेक्टमा समेत संलग्नता रहेको, एन्फा कम्प्लेक्स बनाउँदा हिनामिना गरेको भन्ने आरोप प्रमाणित गर्न थापाले चुनौती दिएका छन्।
‘कसैमाथि लगाएको आरोप झुठो सावित भएमा आरोप लगाउनेमाथि कारबाही हुने फिफाको कोड अफ इथिक्समा स्पष्ट रुपमा लेखिएको छ। उहाँका निराधार आरोपहरुबाट मेरो करिब २२ वर्षे कार्यकालमा इमान्दारीतापूर्वक गरेका काममा भ्रम रहिरहने भयो,’उनले भने, ‘अब माफी होइन कारबाही हुनुपर्दछ। म दोषी भए मलाई कारबाही होस्।’
आफूमाथि लागेको भ्रमण चिर्न थापाले राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, एसियाली फुटबल महासंघ र फिफासमक्ष पनि न्यायका लागि गुहार माग्ने बताए। उनले स्थानीय निर्वाचनपछि जेठ ३ गतेबाट प्रक्रिया अघि बढाउने समेत जानकारी दिएका छन्। यदि आफ्नो मागको सुनुवाइ नभएको खण्डमा अदालत जाने उनले चेतावनी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।