काठमाडौं– नेपालसँग रहेको विदेशी मुद्रा (विनिमय) सञ्चिति थप घटेको छ। चालु आर्थिक वर्षको फागुन महिनाको तुलनामा चैत महिनामा विदेशी मुद्राको सञ्चिति ३ अर्ब ८ करोड रुपैयाँले घटेको हो।
फागुन मसान्तसम्म कूल विदेशी मुद्राको सञ्चिति ११ खर्ब ७१ अर्ब रुपैयाँ थियो। चैत मसान्तसम्म आइपुग्दा ११ खर्ब ६७ अर्ब ९२ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।
अघिल्लो आर्थिक वर्षको असार मसान्तमा वैदेशिक विनिमय सञ्चिति १३ खर्ब ९९ अर्ब रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको ९ महिनामा १६.५ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा १८.२ प्रतिशतले कमी आइ ९ अर्ब ६१ करोड कायम भएको छ।
कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा १७.९ प्रतिशतले कमी आइ १० खर्ब २१ अर्ब ४५ करोड कायम भएको छ। बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा ५.१ प्रतिशतले कमी आइ १ खर्ब ४६ अर्ब ४८ करोड कायम भएको छ।
२०७८ चैत्र मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ।
आर्थिक वर्ष २०७८/७९ को ९ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।