काठमाडौं–कानुन दिवसका अवसरमा आइतबार चार पूर्वप्रधानन्यायाधीश र ११ न्यायाधीश सम्मानित भएका छन्। सर्वोच्च अदालत परिसरमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई सम्मान गरेकी हुन्।
उक्त अवसरमा पूर्वन्यायाधीशहरु हरिप्रसाद शर्मा, दिलीपकुमार पौडेल, मीनबहादुर रायमाझी र अनुपराज शर्मा सम्मानित भएका हुन्। यस्तै सम्मानित हुने सर्वोच्च अदालतका न्यायाधीशहरुमा कृष्णजङ्ग रायमाझी, अरविन्दनाथ आचार्य, उदयराज उपाध्याय, राजेन्द्रराज नाख्वा, टोपबहादुर सिंह, ज्ञाइन्द्रबहादुर श्रेष्ठ, पवनकुमार ओझा, शारदा श्रेष्ठ, हरिजङ्ग सिजापति, वद्रीकुमार बस्नेत र राजेन्द्रकुमार भण्डारी छन्।
समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको उपस्थिति थियो।
त्यस्तै, समारोहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला, सर्वोच्च अदालतका न्यायाधीशहरु, उच्च अदालतका मुख्य न्यायाधीश, जिल्ला न्यायाधीशहरु, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो।
नेपालमा प्रधानन्यायालयसम्बन्धी ऐन २००८ लागू भएको दिनको स्मरणका रुपमा हरेक वर्ष वैशाख २६ गते कानुन दिवसको रुपमा मनाउने गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।