काठमाडौं- सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा गोताखोर तालिम सुरु भएको छ। आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सह–सचिव हरिप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सि.सं. २ डीप वाटर डाइभिङ ट्रेनिङ (गोताखोर) तालिमको सुरुवात गरिएको हो।
६ हप्ता लामो उक्त तालिममा सशस्त्रका २० जना प्रशिक्षार्थी जवानहरु सहभागी हुनेछन्। तालिम अवधिभर प्रशिक्षार्थीहरुलाई कोशी नदी, फेवाताल, कुलेखानी लगायतका फरक फरक भौगोलिक स्थान तथा वातावरणमा प्रशिक्षण गरिने बताइएको छ।
यसअघि २०६९ वैशाख ३१ गतेदेखि असार १४ गतेसम्म युनडीपी नेपाल र बंगलादेशको सहयोगमा सञ्चालन भएको गोताखोर तालिममा सशस्त्रका २५ जना सुरक्षाकर्मीले तालिम गरेका थिए। अहिले उनीहरु देशका विभिन्न ठाउँमा उद्दारमा खटिँदै आएका छन्।
थप जनशक्ति उत्पादन गर्ने उदेश्यले नेपालमै पहिलो पटक २०७६ असोज ९ गते कात्तिक २६ गतेसम्म बराह बाहिनी पकलीमा सुनसरीमा गोताखोर तालिम सञ्चालन भएको थियो। उक्त तालिममा १९ जना सशस्त्र प्रहरी सहभागी भएका थिए।
अहिले देशका विभिन्न ६ स्थानमा गरी ३७ जना सशस्त्रका गोताखोर परिचालित छन्। गहिरो ताल, तलैया, पोखरी तथा नदीहरुमा डुवी वेपत्ता तथा घाइते भएका व्यक्तिहरुको खोजतलास लगायतका उद्धार कार्यमा संलग्न हुँदै आइरहेका छन्।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले सशस्त्रले भूकम्प, बाढी, पहिरो, आगलागी, दुर्घटनालगायत विपद् व्यवस्थापनको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे।
कार्यक्रममा बोल्दै शिक्षालय कुरिनटारका समादेशक तथा एसएसपी अन्जनी कुमार पोखरेलले नेपाल प्राकृतिक तथा गैर प्राकृतिक विपद्को दृष्टिले उच्च जोखिमयुक्त राष्ट्र रहेको बताउँदै नदि, ताल तथा गहिरो स्थानहरुमा डुबी भएका मानवीय घट्नाहरुमा विपद् प्रतिकार्यको लागि सामान्य जनशक्तिबाट सम्भव नहुने हुँदा संगठनलाई प्राप्त विपद् व्यवस्थापन जस्तो महत्वपूर्ण कार्यदेश कुशल ढंगले सम्पादन गर्नका लागि गोताखोर तालिम अपरिहार्य रहेको बताए।
शिक्षालयबाट तालिमप्राप्त सुरक्षाकर्मीले उद्धार कार्यमा खटिई ८०२ जनाको जिवितै उद्धार र ३०५ वटा शव निकाल्न सफल भएको एसएसपी पोखरेलले बताए। विपद् प्रतिकार्यमा तत्कालको लागि सशस्त्रले कम्तिमा १० जना गोताखोर सहितको टोली प्रत्येक प्रदेशमा परिचालन गर्ने योजना रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।