काठमाडौं– नेपाली कांग्रेसका बागमती प्रदेश प्रतिनिधि अनिल परियार (कान) को हत्या भएको स्थलमा गोलीका खोका भेटिएका छन्। चितवनको भरतपुर महानगरपालिका–७ स्थित कृष्णपुर खेल मैदान नजिकै परियार अचेत अवस्थामा भेटिएका थिए। उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको थियो।
घटनास्थलमा प्रहरीले दुई वटा गोलीका खोका भेटेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी तथा प्रवक्ता नरहरि अधिकारीले बताए। आइतबार राति अज्ञात समूहले धारिलो हतियार प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
परियारको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ। बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठको रोहबरमा शव पोष्टमार्टमका लागि पठाइएको हो। यसअघि उनको शव चितवन मेडिकल कलेजमा राखिएको थियो।
यता प्रहरीले परियारको हत्यामा कुनै राजनीतिक कारण नभएको दाबी गर्दै आएको छ। नेपाली कांग्रेस चितवनले भने अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने माग राख्दै विज्ञप्ति निकालेको छ। ‘निर्वाचनको प्रचारप्रसारको सिलसिलामा खटिरहेका एक युवामाथि सुनियोजित तरिकाले सांघातिक आक्रमण गरी निर्मम तरिकाले हत्या भएको घटनाले नेपाली कांग्रेस चितवनलाई स्तब्ध एवम् मर्माहित तुल्याएको छ,’ कांग्रेस चितवन जिल्ला सभापति राजेश्वर खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
उनलाई आक्रमण गर्ने समूहको पहिचान भइसकेको छैन। परियार गत वर्ष चितवन कारागारमा कैद सजाय भोगेर छुटेका बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।